गोठमा आगलागी हुँदा बारामा तीन चौपायाको जलेर मृत्यु

साझेदारी डेलि
374 पाठक संख्या

बारा । बाराको प्रसौनीमा गोठमा आगलागी हुँदा तीनवटा चौपायाको जलेर मृत्यु भएको छ। आगलागीबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रसौनी गाउँपालिका–६ बेलहियास्थित राजदेव यादवको इँटाको पर्खाल भएको फुसको गोठमा मंगलबार बिहान अचानक आगलागी भएको हो।

आगलागीमा परी गोठमा बाँधिएका एउटा भैँसी, एउटा पाडा र एउटा बाख्रा जलेर मरेका छन्। त्यसैगरी गोठमा राखिएका लत्ताकपडा र दमकलका दुई रोल पाइपसमेत जलेर नष्ट भएका छन्।

आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद राना मगरको कमान्डमा सात जना प्रहरी कर्मचारीको टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भएको छैन। घटनामा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको उनले जानकारी दिए।

Leave a review