सरकार विधि र प्रक्रियाभन्दा सनकका भरमा चलिरहेको छ : कांग्रेस सभापति थापा

साझेदारी डेलि
216 पाठक संख्या

सिमरा । सरकारका निर्णय प्रक्रिया, कार्यशैली र जवाफदेहितामाथि प्रश्न उठाउँदै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार विधि र प्रक्रियाभन्दा व्यक्तिगत सनक तथा लहडका आधारमा सञ्चालन भइरहेको आरोप लगाएका छन्। सरकारलाई जनताको अपेक्षाअनुसार काम गर्न आग्रह गर्दै उनले प्रतिपक्षका रूपमा कांग्रेसले सरकारका गलत निर्णयविरुद्ध आवाज उठाउन नछाड्ने स्पष्ट पारेका छन्।

बाराको सिमरामा सोमबार आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति थापाले संसदीय व्यवस्थामा सरकार र प्रतिपक्षको भूमिका अलग–अलग हुने उल्लेख गरे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले पाँच वर्ष काम गर्ने जनादेश पाएको स्वीकार गर्दै उनले सरकारको आन्तरिक विषयमा हस्तक्षेप नगर्ने तर सार्वजनिक निर्णय र कामकारबाहीमाथि निगरानी राख्ने कांग्रेसको जिम्मेवारी भएको बताए।

सरकारका काममाथि प्रश्न उठाउँदा आफूहरूविरुद्ध विभिन्न प्रकारका षड्यन्त्र भइरहेको थापाको भनाइ थियो। यस्ता गतिविधिबाट कांग्रेस विचलित नहुने उल्लेख गर्दै उनले सत्य र न्यायका पक्षमा उभिने पार्टीको प्रतिबद्धता दोहोर्‍याए । सरकारलाई अनावश्यक गतिविधि र विवादमा अल्झिनुभन्दा रोजगारी सिर्जना, अर्थतन्त्र सुधार तथा युवालाई स्वदेशमै भविष्य खोज्न सक्ने वातावरण निर्माणमा केन्द्रित हुन उनले सुझाव दिए।

सरकारले राम्रो काम र सकारात्मक प्रस्ताव ल्याए त्यसमा कांग्रेसले सहयोग गर्ने उनको भनाइ थियो। इतिहासमै सरकारले उपयुक्त प्रतिपक्ष पाएको दाबी गर्दै थापाले प्रतिपक्षको आलोचनालाई विरोधका रूपमा मात्रै नबुझ्न पनि आग्रह गरे।

कांग्रेसभित्रको पछिल्लो राजनीतिक घटनाक्रम र विशेष महाधिवेशनबारे धारणा राख्दै सभापति थापाले पार्टीलाई नयाँ परिस्थितिअनुसार अघि बढाउन आवश्यक कदम चालिएको बताए। अब विगतका मतभेदलाई अन्त्य गर्दै सबै पक्षलाई समेटेर संगठनलाई एकताबद्ध बनाउनु मुख्य प्राथमिकता रहेको उनको भनाइ थियो।

पार्टी संगठनलाई निर्वाचनमुखी बनाउन आगामी पुसको पहिलो साताभित्र जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए। त्यसपछि स्थानीय निर्वाचनको तयारीमा जुट्ने योजना सुनाउँदै थापाले पार्टीलाई जनताको घरदैलोसम्म पु¥याउने अभियान सञ्चालन गरिने बताए।

आगामी निर्वाचनमा उम्मेदवार छनोट प्रक्रियामा समेत परिवर्तन गरिने उनले घोषणा गरे। उम्मेदवारी दर्ताको केही घण्टाअघि मात्रै टिकट वितरण गर्ने पुरानो अभ्यास अन्त्य गर्दै स्थानीय तहका उम्मेदवार चयनमा क्रियाशील सदस्यलाई निर्णायक भूमिका दिइने उनको भनाइ थियो। पार्टीका लागि काम गरेका र जनतामाझ लोकप्रिय व्यक्तिले अवसर पाउने गरी उम्मेदवार छनोट प्रक्रिया अघि बढाइने उनले बताए।

सभापति थापाले आगामी निर्वाचनमा कांग्रेस कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारे। गठबन्धनको बाध्यता नहुँदा पार्टीभित्रै योग्य र सक्षम उम्मेदवारले प्रतिस्पर्धा गर्ने अवसर पाउने उनको तर्क थियो।

यसैबीच, आफ्नो मधेस भ्रमणलाई राजनीतिक कार्यक्रमभन्दा छठ पर्वको सांस्कृतिक र धार्मिक महत्वसँग जोडेर बुझ्न उनले आग्रह गरे। छठ पर्वले नेपाली समाजलाई धार्मिक तथा सामाजिक रूपमा एकताबद्ध बनाउने उल्लेख गर्दै यसको महत्व देशभर फैलाउने उद्देश्यले आफू मधेस आएको थापाले बताए। सर्लाही र पर्साका छठघाटमा पूजाअर्चना गरेपछि उनी बारा आएका थिए।

Leave a review