मिथिलाञ्चल विधिअनुसार सिमरामा दुर्गा पूजाको तयारी सुरु

रञ्जन यादव
23 पाठक संख्या

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमराको आदर्श टोलमा यस वर्षको दुर्गा पूजाको तयारी सुरु भएको छ। पूजाका लागि निर्माण गरिने नव भवानीको प्रतिमाका लागि मिथिलाञ्चल संस्कृतिअनुसार बुधबार धार्मिक विधिपूर्वक माटो संकलन गरिएको छ।

स्थानीय परम्पराअनुसार पूजाअर्चना गरी प्रतिमा निर्माणका लागि माटो ल्याइएको श्री सिद्धिदात्री दुर्गा पूजा समितिका अध्यक्ष राजकुमार सिंहले जानकारी दिनुभयो। माटो संकलन कार्यक्रममा पूजा समितिका पदाधिकारीसँगै स्थानीय श्रद्धालुको सहभागिता रहेको थियो।

मिथिलाञ्चल क्षेत्रमा देवीदेवताका प्रतिमा निर्माणका लागि निश्चित धार्मिक विधि पूरा गरी माटो संकलन गर्ने परम्परा रहँदै आएको छ। सोही परम्परालाई निरन्तरता दिँदै आदर्श टोलमा विगत पाँच वर्षदेखि दुर्गा पूजा आयोजना हुँदै आएको समितिले जनाएको छ।

माटो ल्याउने कार्य सम्पन्न भएसँगै नव भवानीको प्रतिमा निर्माणको काम अघि बढाइने भएको छ। पूजाका लागि आवश्यक मण्डप निर्माण, सजावट तथा अन्य व्यवस्थापनका कामसमेत सुरु गरिएको समितिका सचिव सञ्जीवकुमार भादेले जानकारी दिनुभयो।

आदर्श टोलमा हरेक वर्ष आयोजना हुँदै आएको दुर्गा पूजामा सिमरा तथा आसपासका क्षेत्रबाट ठूलो संख्यामा श्रद्धालु सहभागी हुँदै आएका छन्। धार्मिक आस्थासँगै मिथिलाञ्चलको कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले पूजालाई निरन्तरता दिइएको समितिका संस्थापक सदस्य डा. राहुल झाले बताए।

Leave a review