जीतपुर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा शेरबहादुर देउवा पक्षले नगरस्तरीय संगठन पुनर्गठन गरेको छ। अधिवेशनबाट निरज कुमार गिरीको अध्यक्षतामा नयाँ नगर कार्यसमिति सर्वसम्मत चयन भएको छ।
जीतपुरमा सम्पन्न अधिवेशनमा करिब तीन सय नेता तथा कार्यकर्ता सहभागी थिए। कार्यक्रममा नेपाली कांग्रेस बारा जिल्ला सभापति तथा कलैया उपमहानगरपालिकाका पूर्वप्रमुख राजेश राय यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
सम्बोधनका क्रममा जिल्ला सभापति यादवले उपमहानगरपालिकाका २४ वटै वडामा पार्टीको संगठन विस्तारलाई प्राथमिकता दिनुपर्ने बताए। कार्यकर्ताको साथ र सहयोगका लागि आफू सधैँ तयार रहेको उल्लेख गर्दै उनले स्थानीय तहमा पार्टीको उपस्थिति बलियो बनाउन नेता–कार्यकर्तालाई सक्रिय हुन आग्रह गरे।
यसैगरी, बारा निर्वाचन क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति सुनिल गुप्ताले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा देउवा नेतृत्वको समूहको पक्षमा धारणा राखे। उनले निर्वाचन आयोगको निर्णयमाथि आर्थिक चलखेलको आरोप लगाउँदै गगन थापा नेतृत्वको समूहलाई आधिकारिकता दिइएको विषयमा असन्तुष्टि व्यक्त गरे। उनका आरोप र दाबीबारे कार्यक्रममा अर्को पक्षको प्रतिक्रिया समेटिएको छैन।
महिला नेतृ राधादेवी साहले पार्टीभित्र एकता कायम गर्दै संगठनलाई बलियो बनाउनुपर्ने बताइन्। विभिन्न कारणले अर्को समूहमा गएका नेता तथा कार्यकर्तालाई पुनः एकताबद्ध भएर अघि बढ्न उनले आह्वान गरिन्।
अधिवेशनमा सहभागी नेताहरूले स्थानीय संगठन विस्तार, कार्यकर्ता परिचालन र आगामी महाधिवेशनको तयारीलाई प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए। नयाँ कार्यसमितिलाई उपमहानगरपालिकाका सबै वडामा संगठनात्मक गतिविधि विस्तार गर्ने जिम्मेवारीसमेत रहनेछ।


