बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानास्थित सेजको खेतमा रहेको कुलोमा एक युवकको शव फेला परेको छ।शव फेला पर्नेमा ३० वर्षीय वीरेन्द्र माझी रहेका छन्।
पारिवारिक स्रोतका अनुसार ट्र्याक्टर चालक माझी शुक्रबार साँझ घरबाट निस्किएका थिए। शनिबार बिहान खेतमा काम गर्न पुगेका स्थानीय बासिन्दाले कुलोमा उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलमा नयाँ कपडासहितको एउटा झोलासमेत फेला परेको प्रहरीले जनाएको छ।
शवको मुचुल्का गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाईएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टले जानकारी दिएका छन्। उनका अनुसार घटनाबारे थप अनुसन्धान कार्य भइरहेको छ ।



