जीतपुरमा दुई करोडको लगानीमा अनमोल स्वीट होटलको तेस्रो शाखा सञ्चालनमा

रञ्जन यादव
215 पाठक संख्या

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा करिब दुई करोड रुपैयाँको लगानीमा अनमोल स्वीट होटलको नयाँ शाखा सञ्चालनमा आएको छ।

मिठाई व्यवसायलाई विस्तार गर्दै होटल सेवासमेत उपलब्ध गराउने उद्देश्यले स्कुल अगाडि टेडा रोडमा स्थापना गरिएको उक्त शाखा बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो।

मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले होटलको उद्घाटन गर्दै नयाँ व्यवसायको विस्तारले जीतपुरको आर्थिक तथा व्यापारिक गतिविधिमा थप ऊर्जा दिने विश्वास व्यक्त गरे। उनले अनमोल स्वीटले आफ्नो पहिचान स्थापित गर्दै गएको उल्लेख गर्दै नयाँ शाखाबाट स्थानीय उपभोक्ताले थप सुविधा पाउने बताए।

यसअघि जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल, उपप्रमुख भोला प्रसाद अधिकारी, वडा नम्बर ७ का अध्यक्ष सुनिल गुप्ता, उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र गुप्ता र पूर्ववरिष्ठ उपाध्यक्ष मनोज गुप्ताले संयुक्त रूपमा रिबन काटेर होटलको शुभारम्भ गरेका थिए।

सञ्चालक निप्पु सर्राफका अनुसार ग्राहकलाई स्वच्छ, शुद्ध र गुणस्तरीय मिठाई उपलब्ध गराउनुका साथै होटलका विभिन्न परिकार तथा सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ। नयाँ शाखामा मिठाईका विभिन्न स्वादसँगै खानपिनका अन्य परिकारसमेत उपलब्ध हुने उनले जानकारी दिए।

हेटौँडाबाट व्यवसाय सुरु गरेको अनमोल स्वीटले यसअघि वीरगञ्जमा दोस्रो शाखा विस्तार गरेको थियो। जितपुरमा तेस्रो शाखा सञ्चालनमा आएसँगै कम्पनीले आफ्नो सेवा क्षेत्र थप फराकिलो बनाएको छ। नयाँ शाखाको आगमनले जितपुरको बजारमा मिठाई तथा होटल सेवाका उपभोक्तालाई थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ।

Leave a review