जीतपर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरामा निर्माण गरिएको इन्टरलक ब्लकसहितको बाटो सूर्य नेपाल प्रालिले विद्यालयलाई हस्तान्तरण गरेको छ। करिब तीन महिनामा निर्माण सम्पन्न भएको उक्त बाटोको लागत ११ लाख ३१ हजार रुपैयाँ रहेको छ।
एक कार्यक्रमबीच सूर्य नेपालका प्रबन्धक सुरेशकाजी श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई हस्तान्तरण पत्र प्रदान गर्दै नवनिर्मित बाटो विद्यालयको जिम्मा लगाएका हुन्।
विद्यालयका प्रधानाध्यापक शंकर आचार्यले विद्यालय स्थापनाकालदेखि नै सूर्य नेपालले शैक्षिक तथा भौतिक पूर्वाधार विकासमा सहयोग गर्दै आएको बताए। उद्योगको सहयोगबाट प्रशासनिक भवन, डिजिटल बोर्ड तथा प्रयोगशालाका सामग्री उपलब्ध भएको उल्लेख गर्दै उनले पछिल्लो निर्माणले विद्यालयको आवागमन थप सहज हुने विश्वास व्यक्त गरे।
सूर्य नेपालका प्रबन्धक श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य र सामुदायिक विकासका क्षेत्रमा सहयोग गर्दै आएको बताए। स्थानीय आवश्यकतालाई प्राथमिकता दिएर आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने उनको प्रतिबद्धता थियो।
वडा नम्बर २ का अध्यक्ष धनबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्वशिक्षक अच्युतप्रसाद सिटौला, शिक्षक सीता अधिकारी, डम्बर खड्कालगायत विद्यालय परिवार तथा सूर्य नेपालका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रम सञ्चालन शिक्षक गोपी अधिकारीले गरेका थिए।



