रास्वपाको कार्यक्रममा विवाद चर्किँदा १२ जना घाइते

साझेदारी डेलि
158 पाठक संख्या

जीतपुर । बाराको भलुहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको चियापान कार्यक्रम दुई पक्षबीचको विवादका कारण झडपमा परिणत भएको छ। झडपमा करिब १२ जना घाइते भएका छन् भने घटनापछि क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।

जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित भलुहीमा आयोजित कार्यक्रममा रास्वपाका अस्लम देवान र सुवास मन्सुरी पक्षबीच विवाद सुरु भएको थियो। सामान्य विवादले उग्र रूप लिएपछि कार्यक्रमस्थलमै दुवै पक्षबीच कुटाकुट भएको बताइएको छ।

कार्यक्रमस्थलमा भएको विवाद त्यतिमै सीमित रहेन। वीरगञ्ज हेल्थ केयर अस्पताल परिसरमा समेत दुवै पक्षबीच पुनः झडप भएको थियो। घाइतेमध्ये सात जनालाई उक्त अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ भने अन्यको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ।

घटनाका क्रममा सुरक्षामा खटिएका प्रहरीमाथि समेत हातपात भएको बताइएको छ। कार्यक्रममा सांसद रहबर अन्सारीको उपस्थिति रहेको चर्चा भए पनि प्रहरीले यसबारे आधिकारिक पुष्टि गरेको छैन।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले घटनालाई पार्टीभित्रको विवादभन्दा पनि दुई पक्षबीचको आपसी झगडाका रूपमा व्याख्या गरेका छन्।

झडपपछि थप तनाव फैलिन नदिन भलुही क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। घटनाको वास्तविक कारण, घाइतेको यकिन संख्या र प्रहरीमाथि भएको भनिएको हातपातबारे थप विवरण आउन बाँकी छ।

Leave a review