जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा क्षेत्रको विकासको लागी कस्तो नीति आवश्यक ?

साझेदारी दैनिक
साझेदारी दैनिक 903 पाठक संख्या
14 मिनेट पढ्न लाग्ने समय

– नविन लामा /
मुलुक संघीयतामा गए सँगै साविकको विभिन्न गाउँ विकास समिति र नगरपालिका मिलेर जीतपुरसिमरा उपमहानगरपालिकाको स्थापना भएको हो । स्थानीय तहको निर्वाचन पश्चात उपमहानगरपालिकामा जननिर्वाचित मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्यहरुको आगमन भएको पनि तीन बर्ष हुदैछ।

शिक्षामा सोचे अनुरुपको सुधार भएको पाइदैन। भनिन्छ सय बर्ष पछिको समाज कस्तो बनाउने भन्ने कुरा अहिले शिक्षामा गरिने लगानीमा भर पर्दछ। शिक्षा जीबनलाई सार्थक बनाउने एकमात्र साधन हो। औपचारिक होस या अनौपचारिक शिक्षा नै ज्ञानको स्रोत हो।

नगरभित्र गुणस्तर एबं व्यवहारिक शिक्षा प्रदान गर्नु आजको प्रमुख आवश्यकता रहेको छ। कोभिड १९ ले गर्दा शिक्षा क्षेत्रमा दीर्घकालिन रुपमा नै असर पारेको देखिन्छ। शिक्षामा सबैको पहुँच र गुणस्तरीय बनाउनको निम्ति नगरपालिकाले बिद्यमान स्रोत साधनको उपलब्धतालाई मध्ये नजर गर्दै दीर्घकालिन ठोस नीति तथा कार्यक्रमहरु तर्जुमा गर्नु पर्दछ।

नगरक्षेत्र भित्र शिक्षाको असमान पहुँच एकातर्फ छ भने अर्को तर्फ व्यवहारिक, व्यवसायिक र गुणास्तरीय शिक्षाको अभाव देखिन्छ।अतः जनप्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीहरुको अर्थपुर्ण सहभागिताबाट नै गुणस्तरीय शिक्षा हासिल हुन सक्दछ।

पहिलो कुरो त हामी कहाँ जाने, हाम्रो गन्तव्य के हुने भन्ने कुरामा स्पष्ट हुनु जरुरी छ। सो गन्तब्य ऐकिन भए पश्चात मात्र गन्तब्यले मार्ग निर्देशन गर्ने लक्ष्य उद्धेश्य हासिल गर्ने नीति तथा कार्यक्रमहरुलाई तर्जुमा गर्न सकिन्छ। हामी अहिले पनि बीच बाटैमा अलमिलएर रहनु परेको छ। बर्तमान संविधानले स्थानीय सरकारलाई माध्यामिक तहसम्मको शिक्षाको व्यवस्थापन गर्ने अधिकार दिएको छ। त्यस्तै एक स्थानीय तह एक प्राविधिक शिक्षालयको व्यवस्थाले केही हदसम्म प्राविधिक शिक्षाको पहुँच र अवसर पनि सृजना गरिरहेको छ। भावि दिनमा व्यवहारिक, व्यवसायिक र प्राविधिक शिक्षालाई केन्द्रविन्दु बनाई समग्र नगरक्षेत्र भित्र कस्तो शिक्षा नीति हुनु पर्दछ भन्ने विषयमा यहाँ चर्चा गर्न खोजेको छु।

योजना तर्जुमाः सर्वप्रथम नगरपालिकाले ५ बर्षे, १० बर्षे, २० बर्षे र सो भन्दा बढि समयको लागी योजना बनाउनु जरुरी छ। अल्पकालिन योजनामा साक्षरता दर बढाउने, विद्यार्थी भर्ना दर बढाउने, शिक्षकहरुलाई शिक्षण सिकाई सम्बन्धि तालिम दिने, शिक्षक विद्यार्थी अनुपात अनुसार नगरक्षेत्र भित्र शिक्षकहरुको दरबन्दि मिलान गर्ने, नीजि तथा सामुदायिक विद्यालयहरुको सञ्चालन तथा मुल्यांकनको लागि इन्डिकेटर बनाउने, शिक्षक तथा कर्मचारीहरुको कार्यसम्पादनलाई प्रभावकारी बनाउन बस्तुगत कार्यसम्पादन मुल्यांकनको व्यवस्था गर्ने, विद्यार्थाीहरु तथा शिक्षकहरुलाई उत्प्रेरणा गर्नको लागी छात्रबृत्ति तथा अन्य सुविधाहरुको व्यवस्था गर्न सकिन्छ। त्यस्तै दश बर्षे तथा बीस बर्षे योजनाको लागी नगर क्षेत्रमा उपलब्ध बिद्यमान स्रोत साधन, जनसख्या बृद्धिदर, तथा भावि सम्भाब्यताको समेत अध्ययन गरेर उचित नीति निर्माण गर्नु पर्दछ। जस्तैः नगरको कुन क्षेत्रमा बहुमुखी क्याम्पस खोल्ने, कहाँ इन्जिनियरिङ अध्ययन विद्यालय खोल्ने, कहाँ नर्सिङ अहेब तथा एचए लगायतको मेडिकल स्कुल खोल्ने, कहाँ कृषि पशु विद्यालय खोल्ने, कहाँ बाणिज्य शिक्षा बिज्ञान अध्यापन बिद्यालय खोल्ने भन्ने नीति पनि तर्जुमा गर्नु पर्ने देखिन्छ। त्यस्तै नगरपालिकाले नीति तर्जुमा गर्दा नेपालकै सफल बिद्यालय तथा अन्तर्राष्ट्रिय स्तरमा रहेको राम्रा अभ्यासहरुलाई पनि समाबेश गर्नु पर्ने देखिन्छ।

कार्यदल गठनः योजना तर्जुमा पश्चात त्यसको कार्यन्वयन र पृष्ठपोषण गर्ने कार्य निकै चुनौतिपुर्ण हुन्छ। एकातर्फ नगरपालिकामा पर्याप्त जनशक्तिको अभाव तथा स्रोत साधनको कमि र अर्को तर्फ गुणस्तर हासिल गर्नु पर्ने आवश्यकता रहेको छ। तसर्थः यस्तो बिषम परिस्थितिमा नगरपालिकाले शिक्षा बिज्ञ, शिक्षक, अभिभावक तथा जनप्रतिनिधिहरुको रहेको एउटा कार्यदल गठन गर्नु पर्ने हुन्छ। उक्त कार्यदलले शिक्षामा रहेको समस्या, समाधानका उपायहरु, बिद्यालयमा भएका समस्या तथा चुनौतीहरु तथा भावि शिक्षा नीति सम्बन्धि विविध विषयहरुमा छलफल गर्न सक्दछ।

अनिवार्य नगरस्तरी बैठकः नगरभरिका बिद्यालयका प्रधानध्यापक, व्यवस्थापन समिति, नगरपालिकाका शिक्षा शाखा तथा सामाजिक विकास समितिको उपस्थितिमा हरेक विद्यालयको मासिक प्रगती प्रतिबेदन, विद्यालयहरुले गरेका राम्रा अभ्यासहरुको सेयरिङ, विद्यमान समस्या तथा चुनौती, समस्या समाधानका लागी गर्नु पर्ने उपायहरुको बारेमा छलफल गर्नु पर्ने देखिन्छ। हरेक विद्यालयबाट प्रधानध्यापकहरुको उपस्थिति रहने भएकोले नगरपालिकाले विद्यालयको मासिक प्रगति विवरण पनि सहजै प्राप्त गर्न सक्दछ। त्यस्तै गरी सोही बैठक मार्फत विद्यालयलाई थप निर्देशन तथा सुझाबहरु पनि सम्प्रेषण गर्न सकिन्छ।

अनिवार्य विद्यालय स्तरीय बैठकः कुनै पनि काम गर्दा शतप्रतिशत सफलता हासिल हुदैनन। केही न केही कमि कमजोरी पनि हुन सक्दछ। त्यस्ता कमिकमजोरीहरु पत्ता लगाई आउदो दिनमा उन्मुलन गर्दै अघि बढेमा सफलता निश्चय पनि प्राप्त हुन्छ। अतः हरेक विद्यालयमा प्रधानध्यापकको अध्यक्षतामा हरेक हप्ता स्टाफ बैठक बसि भएका प्रगति, बिद्यमान समस्या तथा भावि योजनाको बारेमा छलफल गर्न सकिन्छ। यस बैठकमा बिषयगत शिक्षकले आफ्ना बिषयमा विद्यार्थीहरुको शिकाईको अवस्था, विद्यार्थीहरुको सिक्ने क्षमता, विद्यार्थीको उपस्थितिको अवस्था लगायतका विषयमा छलफल गरी अघि बढ्न सक्नेछन। त्यस्तै हरेक महिना नगर स्तरीय बैठक हुनु भन्दा अघि व्यवस्थापन समितिको बैठक बसी बिद्यमान समस्या र समाधानको उपाय, नगरपालिकामा पेश गर्नु पर्ने एजेण्डाहरुको विषय तथा समग्र विद्यालयको भौतिक, शैक्षिक तथा वातावरणीय विषयहरुको बारेमा पनि छलफल गर्न सकिन्छ।

पाठ्यक्रम तथा परीक्षा प्रणालीमा परिमार्जनः पाठ्यक्रमले वर्तमान र भोलीको आवश्यकतालाई समेट्नु पर्दछ। संविधान परिवर्तन जस्तै पाठ्यक्रम पनि समयानुसार परिमार्जित गरिदै लैजानु पर्दछ। आज सूचना प्रविधि तथा इन्टरनेटको युग हो। त्यसैले अबको पाठ्यक्रम तथा शिक्षण विधिलाई पनि नगरपालिकाले परिवर्तन गर्दै आधुनिक शिक्षण विधि प्रयोगमा ध्यान दिनु पर्ने जरुरी छ। नर्सरी तथा प्राथमिक कक्षाका बालबालिकाहरुको लागी विभिन्न कार्टुन भिडियो, रङ्गीन चित्र, तथा खेलकुदको माध्यमबाट नेपाली, अग्रेजी, गणित, तथा वातावरणका विषयहरु अध्यापन गराउन सकिन्छ। प्राथमिक तहका बालिबालिकाहरुलाई अध्ययनको अलावा जथाभावि फोहोर गर्न नहुने, तोकिएको निश्चित स्थानमा मात्र फोहोर फाल्नु पर्ने लगायतको व्यवहारिक शिक्षा दिनु पर्ने देखिन्छ। त्यस्तै कक्षा ६ देखि माथिका विद्यार्थीहरुको लागी सूचना प्रविधि युक्त पाठ्यक्रमको व्यवस्था गर्नु पर्दछ। नेपाली, अग्रेजी, गणित, बिज्ञान तथा वातावरण, जनसख्या सामाजिक तथा राजनीतिक शिक्षा, व्यवहारिक पुर्वव्यवसायिक तथा नैतिक शिक्षा, सूचना प्रविधि शिक्षा, लेखा तथा अर्थशास्त्र जस्ता विषयहरुको अध्यापन गराउन जरुरी देखिन्छ। हाल कक्षा ६ देखि नै कम्प्युटर शिक्षा भएता पनि अधिकांस बिद्यालयमा आधारभुत कम्प्युटर ज्ञान समेत नभएको शिक्षकहरुबाट अध्यापन हुदै आएको छ। नगरपालिकाले हरेक बिद्यालयमा एक जना कम्प्युटर इन्जिनियरिङ वा सो सरह अध्ययन गरेका विद्यार्थीहरुको व्यवस्थापन गर्न पर्दछ। त्यस्तै गरी हाल कायम रहेको परीक्षा प्रणालीमा पनि परिमार्जन गर्नु पर्ने देखिन्छ। विद्यार्थीहरुको चौतर्फि मुल्याकंन गर्न वर्तमान परीक्षा प्रणाली उपयुक्त नहुन सक्दछ। अन्तिम परीक्षाको तीन घण्टाको समयमा लेखेको भरमा मात्र मुल्यांकन गर्न अबैज्ञानिक जस्तो लाग्छ। मेरो विचारमा शैद्धान्तिक ज्ञानले विद्यार्थीको सिकाईको स्तर बृद्धि हुैदन। तसर्थ व्यवहारिक ज्ञान दिनु जरुरी छ। कक्षा ६ देखिका विद्यार्थीहरुलाई अग्रेजी बिषयमा प्रत्येक महिना एउटा निबन्ध लेख्न लगाउन सकिन्छ। शिक्षकले निबन्धमा भएका शब्दहरुको प्रयोग, वाक्यको संरचना लगायतको विषयमा पृष्ठपोषण दिदै विद्यार्थीको सिकाई प्रभावकारी बनाउन सकिन्छ। त्यस्तै जनसंख्या, सामाजिक, लेखा, अर्थशास्त्र, नेपाली जस्ता विषयहरुमा विद्यार्थीहरुको समुह बनाई सामुहिक छलफल, प्रतिबेदन लेखन तथा प्रतिबेदन प्रस्तुति गराई विद्यार्थीहरुको लेखनसीप, रचनात्मक उत्तर लेख्ने शैलीको विकास तथा वक्तृत्वकलाको समेत विकास गराउन सकिन्छ। जस्तैः लेखा विषयको प्रयोगात्मक परीक्षामा विद्यार्थीहरुको समुहलाई एउटा कुनै कम्पनिको बित्तिय विवरणको विश्लेषण, सो कम्पनिको बजारको अध्ययन, कम्पनिको प्रमुख उत्पादन तथा कम्पनिको भविष्यको रणनीति सहितको सामान्य प्रतिबेदन तयार गराउन सकिन्छ। त्यस्तैः विद्यार्थीहरुलाई अध्यापन गराउदा परीभाषा भन्दा पनि मामिलाको अध्ययन गराउने र सो मामिलाबाट नै प्रश्नहरु सोधिएमा विद्यार्थीको रचनात्मक क्षमतामा अभिबृद्धि गराउन सकिन्छ।

छात्रबृत्तिको व्यवस्थाः उत्प्रेरणा नै विद्यार्थीको सफलताको मुल शुत्र हो। उत्प्रेरणाका स्रोत फरक भए पनि त्यसको लक्ष्य एकै हुन सक्छ। नगरभित्रको उत्कृष्ट विद्यार्थीलाई भविष्यमा सफल बन्नको लागी तथा आउने विद्यार्थीहरुलाई थप अध्ययनको लागी उर्जा प्रदान गर्न छात्रबृत्तिका विभिन्न अवसरहरुको सृजना गर्नु पर्दछ। जस्तैः कक्षा १२ उत्तीर्ण गरेका गरीब तथा जेहेन्दार विद्यार्थीको लागी एमबिबिएस, इन्जिनियर, कृषि, भेटेनरी, नर्सिङ, चार्टर एकाउन्ट जस्ता विषयमा अध्ययनको लागी छात्रबृत्ति दिनु पर्दछ। छात्रबृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरुको अध्ययन सकिए पश्चात कम्तिमा पनि ३ बर्ष नगरपालिकामा अनिवार्य सेवा दिने सम्झौता गराएर छात्रबृत्ति दिएमा नगरपालिकामा जनशक्तिको अभाव पनि हुदैन। यसबाट शैक्षिक वातावरण सृजना हुनुको साथै विद्यार्थीहरुलाई सजिलै उत्प्रेरणा दिन सकिन्छ।

शिक्षकहरुलाई सम्मानः शिक्षकलाई भगवानको रुपमा लिन सकिन्छ। असल तथा सक्षम शिक्षकले नै विद्यार्थीलाई असल भविष्य निर्माण गर्न उत्प्रेरित गराउन सक्दछ। एकजना डाक्टर खराब भएमा बढिमा १०० जना विरामीलाई असर पर्ला तर एक जना शिक्षक असक्षम र खराब भएमा हजारौ विद्यार्थीको भविष्य मात्र नभई देशलाई नै घाटा हुन्छ। शिक्षकसँग कुनै पनि सरकारी कर्मचारीको तुलना गर्न सकिदैन। शिक्षकहरु महान हुन। तसर्थः शिक्षकहरुलाई नगरपालिकाले सम्मान गर्ने नीति ल्याउनु पर्दछ।हरेक विद्यालयका उत्कृष्ट शिक्षकलाई तथा उत्कृष्ट प्रधानध्यापकहरुलाई बार्षिक रुपमा सम्मान गर्नु पर्दछ। नगरभित्रका पनि उत्कष्ट शिक्षकलाई सम्मान गर्नु पर्दछ। उत्कृष्ट प्रधानध्यापकहरु मध्येबाट शिक्षा समितिमा आमन्त्रिण तथा स्रोत व्यक्तिमा समेत नियुक्ति गराउन सकिन्छ।

अतिरिक्त कृयाकलापहरु सञ्चालनः विद्यार्थीहरुको सर्वाङ्गिक विकासको लागी हरेक विद्यालयमा महिनाको अन्तिम शुत्रबार अतिरिक्त कृयाकलाप तथा बर्षमा दुई पटक नगरस्तरीय प्रतियोगिताको आयोजना गर्न सकिन्छ। सिमरामा रंगशालाको स्थापना भए जस्तै डुमरबाना तथा आसपासको क्षेत्रमा क्रिकेट रंगशाला, भलिबल, टेबल टेनिस, बास्केटबल, नाटकघर लगायत अन्य खेलकुदका लागी आवश्यक पुर्वधारको निेर्माणमा जोड दिनु पर्दछ। त्यस्तैः नगरपालिकाले बिद्यार्थीहरुलाई छोटो समयको क्षमता अभिबृद्धि तालिम, वक्तृत्वकला तालिम, पत्रकारिता तालिम, सिलाई तालिम, कम्प्युटर तालिम, कृषि तथा तरकारी खेती लगायतको तालिमहरु पनि दिनु पर्दछ।

अनिवार्य पाठ योजना तथा गृहकार्य डायरीः शिक्षकहरुले बर्ष भरी आफुले अध्यापन गर्नु पर्ने बिषयहरुको पाठको बारेमा योजना बनाउदा शिक्षण सिकाई प्रभावकारी हुन्छ। पाठ योजना अनुसार अध्यापन गर्दा कक्षामा जानु पुर्व नै पाठको तयारी हुने भएकोले शिक्षकको एकातर्फ मनोबल उच्च हुन्छ भने अर्को तर्फ समयमा नै पाठहरु अध्यापन गराउन सहिन्छ। त्यस्तै गरी कक्षा ६ देखि माथीका विद्यार्थीहरुलाई अनिवार्य रुपमा गृहकार्य डायरी लागु गराउदा अभिभावकलाई पनि आफ्ना छोरीछोरीको गृहकार्यको बारेमा जानकारी हुन्छ भने विद्यार्थीहरुलाई पनि घरमा गृहकार्य स्मरण गर्न सहज पनि हुन्छ।

सूचना प्रविधि तथा इन्टरनेटको व्यवस्थाः हरेक विद्यालयमा सूचना प्रविधिको पहुँचलाई सहज बनाउदै विद्यार्थीहरुलाई पनि सूचना प्रविधिको माध्यमबाट अध्यापन गराउन जरुरी देखिन्छ। साथै नगरपालिकाबाट विद्यालयमा जाने, निर्देशन तथा सूचनाहरु इन्टरनेटको माध्यमबाट प्रभाव गर्नु पर्दछ। त्यस्तै गरी नगरपालिकाले कुनै इलेक्ट्रोनिक लाईब्रेरीको स्थापना गरी आफ्ना नगरभित्रको बिद्यालयहरुलाई इन्टरनेटको माध्यमबाट अध्ययन गर्नको लागी युजर दिन सकिन्छ। त्यस्तै गरी शिक्षकहरुको उपस्थितिलाई प्रभावकारी बनाउन हरेक विद्यालयमा विद्युतिय हाजिरी मेशिनको जडान गरी इन्टरनेटको माध्यमबाट नगरपालिकामा नै रियल टाइममा हेर्न सक्ने बनाउन सकिन्छ।

प्रभावकारी अनुगमन संयन्त्रः नगरभित्रको विद्यालयमा भएका गतिविधिहरुलाई अवलोकन गर्न नगरपालिकामा अनुगमन संयन्त्रको गठन गर्न जरुरी छ। सो संयन्त्रको लागी मेयर वा उपमेयर वा कार्यपालिका सदस्य वा अन्य जनप्रतिनिधि, व्यवस्थापन समितिको अध्यक्ष मध्येबाट, अभिभावक संघको सदस्य तथा सम्वन्धित वडाको अध्यक्ष वा सदस्यहरुको समुह बनाई कम्तिमा महिनामा एकपल्ट एउटा विद्यालयको अनुगमन गरी प्रतिबेदन तयार गर्नु पर्दछ। शिक्षकको उपस्थिति, विद्यार्थीको उपस्थिति, विद्यालयको स्रोत साधनको प्रयोगको अवस्था, विद्यालयमा भएका समस्याहरुको पहिचान लगायत बिषयमा अनुगमन गर्नु जरुरी छ।

पुर्वाधार विकासः नगर भित्रका सम्पुर्ण विद्यालयको अनुगमन गरी अत्यावश्यक पुर्वाधारहरु जस्तै सौचालय, खानेपानीको अवस्था, कक्षा कोठा, डेक्स बेन्च लगायतको पुर्वाधारको विकास तर्फ पनि ध्यान दिनु पर्दछ। त्यस्तै सकेसम्म हरेक शिक्षकहरुको लागी र्याकको व्यवस्था, लाइब्रेरीको व्यवस्था तथा विद्यार्थीहरुलाई अध्ययनको लागी अध्ययन कक्षको समेत व्यवस्था गर्न सकिन्छ।

अनिवार्य पोसाकः शिक्षक तथा विद्यार्थीहरुलाई अनिवार्य रुपमा नगरपालिका वा नेपाल सरकारले तोके बमोजिमको पोषाक लगाउनु पर्दछ। पोसाकलाई पोसाकको रुपमा भन्दा पनि पहिचान र संस्कृतिको रुपमा लगाउनु पर्दछ। शिक्षक र अन्य व्यक्तीमा फरक देखिनको लागी पोसाकले महत्वपुर्ण भूमिका निर्वाह गर्दछ।

शिक्षक घरदैलो कार्यक्रमः हरेक विद्यार्थी एक जना शिक्षकलाई जिम्मा लगाएर सो शिक्षकले सो विद्यार्थीको प्रगतिको अवस्था, अध्ययन रुची तथा सो शिक्षक महिनामा एकपल्ट अभिभावकलाई घरमै गएर भेट्न जाने नीति बनाउन सकिन्छ। यस्तो नीतिले एकातर्फ शिक्षक र अभिभावकबीचको सम्बन्ध सुढृण हुन्छ भने अर्को तर्फ विद्यार्थीलाई पनि उत्प्रेरणा प्राप्त हुन्छ।

आवासिय विद्यालयको स्थापनाः नगरपालिकाले कम्तिमा नगरको कुनै एउटा विद्यालयलाई आवासिय विद्यालयको रुपमा स्थापना गर्नु पर्दछ। नगर क्षेत्रमा अभिभावक गुमाएका बालबालिका, सडक बालबालिका तथा बिपन्न बालबालिकाहरुको साथै आवासिय अध्ययन गर्न चाहाने विद्यार्थीहरुको लागी पनि उपयुक्त हुन सक्दछ। आवासिय विद्यालयमा विद्यार्थीहरुलाई चौतर्फ विकास हुने खालको नविनतम शिक्षण विधि तथा अवधारणाहरुको प्रयोग गर्न सकिन्छ।

शिक्षकहरुलाई तालिम तथा अवलोकन भ्रमणको व्यवस्थाः नगरपालिकाले समय अनुसार शिक्षकहरुको ज्ञानको दायरा अभिबृद्धि गर्ने, पुनरताजकि तालिम, मनोबल बढाउने खालको तालिमहरुको व्यवस्था गर्नु पर्दछ। त्यस्तै गरी हरेक बर्ष राष्ट्रिय स्तरमा सफल विद्यालयहरुको अध्ययन तथा अवलोकनको लागी शिक्षकहरुलाई अवसर प्रदान गर्नु पर्दछ। यस्तो अवसरले शिक्षकहरुलाई पुनरताजकि ल्याउनुको साथै नयाँ नयाँ ज्ञान तथा सीप समेत आर्जन हासिल गर्न पनि मद्धत पुर्याउदछ।
                                                 ( जीतपुरसिमरा १७ रामनगर बारा, लेखक हाल जापानमा एमबिए अध्ययनरत छन । )

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review