भारी वर्षा र बाढीले गाउँबस्तीमा ल्याउने सक्ने विपद तर्फ सचेत रहन बारामा प्रहरीले विशेष सतर्कता अपनाएको छ । प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार जिल्ला भरिका प्रहरी युनिटहरुलाई उच्च सतर्कतामा राखिएको छ ।
नदी र खोला छेउमा भएका बस्तीहरुलाई बिशेष निगरानीमा राख्न र बाढी तथा डुबानको खतरा भएमा त्यस्ता बस्तीका बासिन्दालाई तुरुन्त सुरक्षित स्थानमा लैजानेगरी सुरक्षाकर्मीहरुलाई उच्च सतर्कतामा राखिएको प्रहरी उपरीक्षक पंगेनीले जानकारी गराउनु भयो ।
भारी वर्षा र बाढीलाई मध्य नजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई डुङ्गा र आपतकालीन सामग्री सहित उच्च तयारीमा राखिएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले जानकारी गराउनु भयो ।
जल तथा मौसम विज्ञान विभागले भारी वर्षा र बाढी पहिरोबाट वचन बारा, पर्सा र रौतहटका नागरिकलाई सचेत गराएको छ । विभाग आज एकाबिहानै सर्वसाधारण नागरिकको मोबाईलमा सन्देश पठाएर बाढी पहिरो र डुबानको खतरा भएकोले सुरक्षित रहन सचेत गराएको हो ।
बाराको लालबकैया र तीनवटै जिल्लाको अन्य साना नदिहरुमा समेत ठूलो बाढी आएर गाउँबस्ती डुबानमा पर्नुका साथै बाढीले बगाएर ठूलो क्षति हुन सक्ने भएकोले खोला र नदी आसपासका बासिन्दालाई चनाखो र सुरक्षित रहन मौसम विभागले मोबाइल सन्देश मार्फत सचेत गराएको हो ।