बारामा पुर्वसशस्त्र प्रहरी जवानको हत्या गरिएको अवस्थामा शव फेला

संदिप प्रसाद यादव
3.1k पाठक संख्या

संदिप प्रसाद यादव/

बारामा एक पुर्वसशस्त्र प्रहरी जवानको धारिलो हतियार प्रहारबाट हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको छ ।

जिल्लाको पचरौता नगरपालिका वडा नम्बर १ पिपरपाती बस्ने ३३ वर्षीय अमरेश कुमार सिंहको शव भेटिएको प्रहरीले जनाएको छ । उनको शव हत्या गरिएको अवस्थामा दशगजा क्षेत्र नजिकै फेला परेको हो ।

उक्त घटना स्थलमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्ले आफै पुगेका थिए । शव भेटिएका अमरेश कुमार सिंहको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेर घाइते बनाएको निशान देखिएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

नेपाल सशस्त्र प्रहरीमा पाँच वर्ष जवानका रूपमा सिंह कार्यरत थिए । केही महिना अगाडि मात्रै उनले जागिर छोडेको र जागिर छोडेपछि सिंहले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल सञ्चालन गरेको स्थानीयहरूका अनुसार थिए ।

सिंहको हत्याको अनुसन्धानको सिलसिलामा भारतीय नागरिक राहुल साह र सामलाल महतो गरी दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।

सिंहको हत्या अभियोगमा पक्राउ परेका भारतीय नागरिक राहुल साहले दशगजाको नेपालतर्फ रक्सी पसल संचालन गर्दै आएको र केही दिन पहिला सिंहसँग झगडा समेत भएको अनुसन्धानबाट खुलेको बारा प्रहरीले जनाएको छ। पक्राउ परेका साह र महतोलाई नियन्त्रणमा राखेर घटना बारे थप अनुसन्धान भईरहेको बाराका एसपी काफ्ले बताए ।

Leave a review