महिला क्रिकेटको विकासमा बागमति प्रदेश खेलकुद परिषद्

साझेदारी दैनिक
381 पाठक संख्या

प्रदेश खेलकुद विकास परिषद्,बागमति प्रदेशले बागमति प्रदेश क्रिकेट संघसँगको सहकार्यमा प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता गर्ने भएको छ ।

बिहीबार एक विज्ञप्ती जारी गर्दै प्रदेश खेलकुद विकास परिषद्,बागमति प्रदेशले प्रदेश क्रिकेट संघसँग मिलेर तीन वटा प्रतियोगिता गर्न लागिएको जनाएको हो ।

सम्झौताअनुरूप हुने बागमती प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता,बागमती प्रदेश एलिट ट्रफी तथा बागमती प्रदेश द्वपक्षीय सिरिजको सम्पूर्ण तयारी पूरा भएको प्रदेश खेलकुद विकास परिषद्, बागमति प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।

आगामी मंसिर १५ गतेदेखि २९ गतेसम्म विभिन्न चरणको प्रतियोगितामा विभिन्न जिल्लाका ८४ खेलाडीको सहभागिता रहनेछ ।

प्रतियोगिताबाट छनोट परेका खेलाडीलाई आगामी पुष १ गतेदेखि हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा र बागमती प्रदेशले फागुन २५ गतेदेखि आयोजना गर्ने प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा सहभागी गराइने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

छनोट भएका टोलीले एपिएफ क्लबसँग मैत्रीपूर्ण खेल पनि खेल्ने भएको छ । उक्त खेल आगामी मंसिर २७, २८ र २१ गते तीन दिनसम्म हुनेछ । पुरुष टोलीको सफलतासँगै महिला क्रिकेटको पनि विकास गर्नुपर्छ भन्ने उद्देश्यअनुरूप यस किसिमको कार्यक्रम अगाडि बढाइएको बागमति प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।

छनोट प्रतियोगिताको उद्घाटनसँगै १० वटा खेलहरू चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा र ६ वटा खेल मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने भएको छ ।

बागमती प्रदेश खेलकुद परिषद्ले क्रिकेट रंगशालालगायतका भौतिक पूर्वाधार निर्माणसँगै खेलाडीहको क्षमता विकासका लागि विभिन्न किसिमका तालिम तथा प्रतियोगिता सञ्चालन गर्ने योजना अनुरुप छनोट प्रतियोगिताका कार्यक्रम अगाडि बढाएको उल्लेख गरेको छ ।

प्रतियोगिताको सम्पूर्ण प्राविधिक व्यवस्थापन बागमती प्रादेशिक क्रिकेट संघले गर्ने भएको छ । यस प्रतियोगिताको लागि प्रदेश खेलकुद विकास परिषद्,बागमती प्रदेशले २५ लाख रुपैयाँ बजेट प्रदान गर्नेछ ।

Leave a review