पोस्ट नेटल केयर वार्डको निर्माण नारायणीमा आरम्भ

साझेदारी दैनिक
324 पाठक संख्या

मधेश प्रदेशको एक मात्र महानगर पर्साको वीरगंजस्थित नारायणी अस्पतालमा प्रसूती पश्चात हेरचाह गर्न आवश्यक पर्ने कक्ष (पोस्ट नेटल केयर वार्ड) निर्माण हुने भएको छ ।

हाल रहेको कक्षमा सीमित संख्यामा बढ्दो चापका कारण प्रसूती भएका आमा र बच्चालाई राख्न सो कक्षको निर्माण हुने भएको हो । हाल रहेको कक्ष अपुग रहेकाले थप २५ जना सुत्केरी आमा र बच्चा राख्न मिल्ने गरी नयाँ कक्ष निर्माण गरिने भएको हो । 

पोस्ट नेटल केयर वार्डको निर्माणको जिम्मा वीरगंजमा रहेको कन्साई नेरोलेक पेन्ट जापान प्राइभेट लिमिटेडसंग रहेको छ ।वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको पहलमा सो जिम्मेवारी उक्त संस्थालाई दिइएको हो ।

कन्साई नेरोलेक पेन्टले ४० लाखको लागतमा अस्पतालमा पोस्ट नेटल केयर (पिएनसी) वार्ड निर्माण गर्ने सम्झौता गरेको नारायणी अस्पताल विकास समितिका अध्यक्ष धीरजकुमार गुप्ताले साझेदारी दैनिकलाई जानकारी दिए ।

पिएनसी वार्ड छिटो छरितो निर्माण सम्पन्न गर्न आइतबार एक कार्यक्रमकाबीच त्रिपक्षीय सम्झौता भएको हो । वीरगंज महानगरपालिका, कन्साई नेरोलेक पेन्ट र नारायणी अस्पतालबीच त्रिपक्षीय हस्ताक्षर समेत भएको छ ।

सम्झौतामा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण,अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साह र कन्साई नेरोलेक पेन्टका तर्फबाट मनोज मिश्राले हस्ताक्षर गरेका छन्।

अस्पतालको सेवा चुस्त र गुणस्तरीय बनाउन महानगरपालिकाले आइसीयु संचालनका लागि आवश्यक सहयोगका साथै अस्पतालको सरसफाई जिम्मा यस अघि नै लिएर काम गरिरहेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताले अस्पतालमा रहेको विभिन्न समस्याहरु सबैको साथ र सहयोगबाट मात्रै समाधान हुने भएको जनाए । उनले सबैलाई निरन्तर सहयोग गर्न आग्रह गरे ।

Leave a review

This will close in 0 seconds