करण कुमार मिश्र/
राष्ट्रिय शक्ति नेपालका केन्द्रिय अभियन्ता मधुकर शमशेर राणाले नेपालमा हिन्दू अधिराज्य स्थापना गर्नुको विकल्प नरहेको रौतहटको गरुडामा मंगलबार बताएका छन् ।
हिन्दू राष्ट्रवादी संस्थाको रुपमा परिचित राष्ट्रिय शक्ति नेपाल जिल्ला कार्य समिति रौतहटले गरुडा नगरपालिकाको विर्ता चोकमा गरेको विस्तारित बैठकमा राणाले यस्तो बताएका हुन् ।
प्रमुख अतिथि समेत रहेका राणाले पुराना एवं ठुला राजनीतिक दलका नेताहरुका कारण आम जनता आजित भइसकेको बताए । उनले नेपालमा राजा सहितको हिन्दू अधिराज्य कायम गर्नुपर्ने माग गरे ।नेपाली जनतालाई सबैखाले उत्पीडन,विभेद, अन्याय, अत्याचार लगायतका जस्ता अनेकौ पीडाबाट उन्मुक्ति दिलाउन आवश्यक रहेको उनले बताए ।
यसका लागि नेपालमा राजसंस्था पुनः स्थापना हुनुपर्ने उनको तर्क थियो । ठुला दलका नेताहरु पटक पटक सत्तामा पुगेर देश र जनतालाई लुटने बाहेक अरु केहि गर्न नसकेको उने दावी गरे । दलका भ्रष्ट एवं नैतिकहीन नेताहरुबाट देशलाइ बचाउन राजाको आवश्यकता रहेको उनको भनाई थियो ।
हामी हिन्दू राष्ट्र कायम हुनुपर्छ भन्ने पक्षमा होइन,किनभने हिन्दू राष्ट्रमा राजा हुँदैन त्यसैले हामी हिन्दू अधिराज्य कायम हुनुपर्ने पक्षमा रहेका छौ,उनले भने । हिन्दू अधिराज्यमा राजा स्वयम् रहने भएकोले आफुहरु हिन्दू अधिराज्य स्थापना गर्नुपर्ने पक्षमा रहेको उनले बताए ।
उनले भ्रष्ट एवं नैतिक हीन नेताहरुले हिन्दू धर्म संस्कृति तथा संस्कार एवं परम्परालाई नै समाप्त गर्ने खेल खेलेको आरोप लगाउदै अहिलेका भ्रष्ट नेताहरुका कारण देशमा चरम गरीबी बढेको उनले दावी गरे । ब्यापक भ्रष्टाचार, विभेद र बेरोजगारी बढेको उनले बताए ।
देशमा बढेको बेरोजगारी,अशिक्षा,भ्रष्टाचार,लुटखसोटको राजनीति अन्त्य एवं आम जनतामाथीको शोष्ण,दमन, उत्पीडन,विभेद,अन्याय र अत्याचारबाट राजाले नै मुक्ति दिलाउन सक्ने उनको तर्क थियो ।
राष्ट्रिय शक्ति नेपालका रौतहट जिल्ला अध्यक्ष रामबाबु साह तेलीले राष्ट्र विखण्डन हुनबाट जोगाउन देशमा सनातन पहिचान सहितको हिन्दू अधिराज्य कायम हुनुपर्ने जनाएका हुन् ।
जिल्ला अध्यक्ष साहको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय शक्ति नेपालका केन्द्रिय अभियन्ता मञ्जु थपलिया,प्रसान्त विक्रम शाह,केन्द्रिय सदस्य त्रिपेस विक्रम शाह,प्रताप बिक्रम शाह,जिल्ला सल्लाहकार गंगा साह तेली,चन्द्रदेव सिंह राजपुत,जिल्ला सदस्य गिता यादव,वृन्दावन नगरपालिका वडा नं ५ का वडा अध्यक्ष उपेन्द्र साह सोनार,लगायतका नेताहरुको सो कार्यक्रममा सहभागिता रहेको थियो ।
पूर्व मन्त्री केशर बहादुर बिष्ट अध्यक्ष रहेको राष्ट्रिय शक्ति नेपालले नेपालमा राजा सहितको हिन्दू अधिराज्य र राजसंस्था पुनः स्थापनाका लागि देशभरी कार्यक्रम गर्दै आएको छ ।
बैठकबाट परोहा नगरपालिका वडा नं ३ को वडा समिति गठन गरिएको छ ।
गठित वडा समितिको अध्यक्षमा श्रीराम ठाकुरलाई चयन गरिएको छ । उपाध्यक्षमा बजरंगी पंडित कुम्हार,सचिव चन्द्रभुषण महतो,सह सचिव कन्हाइ साह कानु,कोषाध्यक्ष सर्फलाल साह तेली लगायतका रहेका छन् ।
सो समिति २१ सदस्यीय रहेकोे जिल्ला अध्यक्ष रामबाबु साहले जानकारी दिएका छन् ।


