सानो उमेर देखि खेलकुदको बिकास गर्ने उदेश्यले बाराको रजघट्टमा ग्रासरुट फूटबल कार्यक्रम सुरु भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित जनता माध्यमिक विद्यालयमा बिहीवारदेखि ग्रासरुट फूटबल शुभारम्भ भएको हो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ८ देखि १२ वर्षसम्मका बालबालिका सहभागी भएका छन् । विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच अखिल नेपाल फूटबल संघ (एन्फा) ले खेल सामाग्री हस्तान्तरण गरेसंगै ग्रासरुट फूटबलको शुभारम्भ भएको हो ।
केन्द्रीय कार्यक्रम अन्तर्गत ग्रासरुट फूटबल संचालनका लागि एन्फाले जनता माध्यमिक विद्यालयलाई छनौट गरेको छ । छनौटमा परेको विद्यालयमा सात दिन एन्फाकै उपस्थितीमा ग्रासरुट फूटबल संचालन हुनेछ ।
सात दिनपछि उक्त कार्यक्रम विद्यालयलाई हस्तान्तरण गर्ने र विद्यालयले उक्त कार्यक्रमलाई निरन्तरता दिनेछ । कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले खेलकुद क्षेत्रबाट प्रतिफल प्राप्त गर्न विद्यालय तहमा लगानी केन्द्रित गर्नुपर्ने धारणा राखेका छन् ।
विद्यालय तहमा लगानी लैजान उपमहानगर तयार रहेको बताए । फुटबलको बिकासले महिला शसक्तिकरण पनि भएको बताए । महिलाहरु पनि फुटबल लगायत अन्य खेल खेल्न सक्छन् भन्ने भावनाको बिकास गरेको नगर प्रमुख पौडेलले जानकारी दिए ।
उपमहानगरपालिका क्षेत्रमा फुटबलमा भएको लगानीले प्रतिफल दिने किसिमको हुनुपर्नेमा मेयर जोड दिए । एक अर्काको देखासिखिले वडा वडामा हुने फुटबल प्रतियोगिताले प्रतिफल भन्दा तनाब बढी दिने गरेको धारणा ब्यक्त गरे ।
ग्रासरुट फूटबल संचालन गर्न एन्फाका उपाध्यक्ष दावा लामा र एन्फा ग्रासरुट संयोजक पंकज शाहीले विद्यालयका प्रध्यानाध्यापक राजु अधिकारीलाई खेल सामाग्री हस्तान्तरण गरेका थिए ।
एन्फाले विद्यालयलाई ८० थान जर्सी,२० थान बलसहित अन्य सामाग्री हस्तान्तरण गरेको हो ।खेल सामाग्रीसंगै एन्फाले ग्रासरुट फूटबलमा सहभागी विद्यार्थीलाई सात दिनसम्म पौष्टिक आहार (डाईट) र चार जना प्रशिक्षक उपलब्ध गराउनेछ ।
ग्रासरुट फूटबल संचालन गर्न स्थानीय स्तरमा बारा जिल्ला फूटबल संघले संयोजन गर्नेछ । ग्रासरुट’ फुटबल कार्यक्रम अन्तर्गत खेलाडीले खेल्ने फुटबल नियम लागू हुँदैन । बालबालिकालाई मनोरञ्जनात्मक तरिकाले फुटबल खेल्न सिकाइन्छ ।
सानै उमेरमा एकआपसमा चिनजान तथा घुलिमिल हुने वातावरणका साथै खेलको विकास गराईने गरिन्छ ।
ग्रासरुट फूटबल शुभारम्भ तथा खेलकुद सामाग्री वितरण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरापलिकाका नगर प्रमुख राजन पौडेल, जीतपुरसिमरा १४ की वडाध्यक्ष चयन गुरुङ,बारा जिल्ला फूटबल संघका अध्यक्ष रामचन्द्र लामा,जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, महासचिव प्रकाश गिरी,नव जनजागृति युवा क्लबका पूर्वअध्यक्ष राजकुमार भट्टराई,शिक्षक बरुण गौतमलगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम बारा जिल्ला फूटबल संघका अध्यक्ष लामाको अध्यक्षतामा सम्पन्न भएको हो ।

