कलैयाको सान्त्वना जीत,आयोजक नौ विकेटले पराजित

साझेदारी दैनिक
236 पाठक संख्या

जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्र्तगत सोमबार भएको खेलमा कलैया क्रिकेट क्लबले सान्त्वना जीत हासिल गरेको छ ।

समूह ‘ए’ को अन्तिम खेलमा कलैयाले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लबलाई नौ विकेटले पराजित गरेको छ ।

सेज क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आयोजकले निर्धारित २० ओभरमा ८५ रन बनाएको थियो । आठ विकेटको क्षतिमा आयोजकले झिनो योगफल बनाएको हो ।

आयोजकका लागि पुजन श्रेष्ठले २६ रन बनाए । अजय पटेलले १२ रन बनाए । कलैयाका शंकर पौडेल र अरनिको यादवले समान दुई÷दुई विकेट लिए।

अनिलकुमार साह, कुमार थापा र मनु हवारीले एक–एक विकेट लिए । कलैयाले ७.३ ओभरमै एक विकेटको क्षतिमा जीत हात पारेको हो ।

कलैयाको जीतमा निरज यादवले बिष्फोटक ब्याटिङ गर्दै  २२ बलमा पाँच चौका र चार छक्का प्रहार गरेर ५० रनको अविजित अद्र्धशतकीय पारी खेले । यसैगरी कलैयाका ओपनर साहिल पटेलले १६ रन बनाए ।  कप्तान त्रितराज दासले १० रन बनाए । आयोजकका लागि प्रभात लामाले एक विकेट लिए ।

निरज प्लेयर अफ दि म्याच घोषित भए । उनलाई जनता माध्यमिक विद्यालयका सहप्रध्यानाध्यापक बरुण गौतमले पुरस्कार हस्तान्तरण गरेका हुन् ।

कलैया प्रतियोगिताबाट बाहिरिसकेको छ । समूह ‘ए’ बाट लगातार दुई खेल जित्दै चार अंकका साथ पर्सा क्रिकेट संघ फाइनलमा पुगेको छ ।

कलैया र आयोजक उपाधी होडबाट बाहिरिएको हो । कलैयाले आफ्नो पहिलो खेलमा आइतबार पर्सा क्रिकेट संघसंग पाँच विकेटको हार व्यहोरेको थियो ।

पहिलो खेलमा हार व्यहोरेको कलैयाले दोस्रो खेलमा आयोजकविरुद्ध सान्त्वना जीत हात पार्दै दुई अंक बटुलेको हो । यता लगातार दुई खेलमा पराजित हुँदै आयोजक अंकविहिन बनेको छ । आयोजकले आफ्नो पहिलो खेलमा पर्सा क्रिकेट संघसंग ७७ रनले पराजित भएको थियो ।

प्रतियोगिता अन्तर्गत मंगलबारदेखि समूह ‘बी’ का खेल हुनेछ । समूह ‘बी’ को पहिलो खेलमा मकवानपुर क्रिकेट संघ र जनकपुर पिस फाउण्डेशन भिड्दैछन् । यस समूहको तेस्रो टोलीको रुपमा खुकुरी क्रिकेट क्लब भैरहवा रहेको छ ।

समूह ‘बी’ को शिर्ष टोलीले पर्सा क्रिकेट संघसंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल चैत्र १० गते हुनेछ ।

अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

Leave a review