यही बैशाख १५ गते हुन गइरहेको ईलाम र बझाङ्गको उपनिर्वाचनको प्रचार प्रसार अवधि बुधबार राति १२ बजेदेखि समापन हुने छ ।
निर्वाचन आयोगका उपसचिव एवम् सहायक प्रवक्ता रामदत्त पाण्डेयले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।
इलाम जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.२मा रिक्त प्रतिनिधि सभा सदस्य र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १को प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रनं. १मा रिक्त रहेको प्रदेशसभा सदस्य उपनिर्वाचन २०८१ का लागि जारी निर्वाचन आचारसंहिता, २०७९मा भएको व्यवस्था बमोजिम प्रचार प्रसार निषेध गरिएको हो ।
बैशाख १२ गते बुधबार राति १२ः०० बजेदेखि मतगणनाको कार्य सम्पन्न नभए सम्म प्रचारप्रसार गर्न निषेध गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सुक्ष्म अनुगमन गरी आचार संहिता पालना गराउने तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ५ को व्यवस्था कार्यान्वयनको अनुगमन गर्न विशेष संयन्त्र मार्फत सुक्ष्म अनुगमन गराउने व्यवस्था समेत मिलाइसकेको पाण्डेयले विज्ञप्तिमा लेखेका छन् ।
त्यसैले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ कोदफा २४को उपदफा ५ तथा निर्वाचन आचार संहिता,२०७९ को दफा १७ बमोजिम प्रचार प्रसार निषेधको अवधिमा निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल,अन्तरक्रिया,सभा,सम्मेलन, कार्यशाला,गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचार प्रसार गर्न,एसएमएस,फेसबुक भाइबर जस्ता विद्युतीय माध्यम तथा सामजिक सन्जालबाट समेत मत माग्न निषेध गरिसकेकोले सोको पालना गर्न गराउन सम्बन्धित सबैमा पुनःस्मरण गराइएको विज्ञप्तिमा लेखिएको छ।
निर्वाचन आचार संहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारण जस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोगले प्रेस विज्ञप्ति मार्पmत पुनः जानकारी गराएको छ ।
उपनिर्वाचनलाई स्वच्छ,स्वतन्त्र,निष्पक्ष रभयरहित वातावरणमा सम्पन्न गर्न÷गराउन प्रचार प्रसार निषेध अवधिको अनुगमन र निगरानी गरी सोको जानकारी आयोगलाई समेत गराउन सम्बन्धित निकायलाई निर्देश दिइएको छ ।
नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सम्बन्धित सबै एकाइ, जिल्ला आचारसंहिता अनुगमन समितिका पदाधिकारी र अनुगमन अधिकृतले नियमित अनुगमन गरी निर्वाचनको स्वच्छता,स्वतन्त्रता, निष्पक्षता कायम गर्न आयोगले निर्देशन दिएको छ ।
उपनिर्वाचन हुने सम्बन्धित जिल्लाका निर्वाचन क्षेत्रका राजनीतिक दल, उम्मेदवार,उम्मेदवारका प्रतिनिधि,मतदाता,निर्वाचनमा खटिएका कर्मचारी,सुरक्षाकर्मी,पर्यवेक्षक,संचारकर्मी,तथा निर्वाचनमा संलग्न व्यक्ति,सङ्घ÷संस्था र निकाय बाहेक निर्वाचन कार्यसंगअसम्बन्धित बाह्य जिल्ला वा क्षेत्रका व्यक्ति र व्यक्तिहरूको अवान्छित आवागमन र अनधिकृत गतिविधिलाई निगरानी गरी निर्वाचनको स्वच्छता र मर्यादामा प्रतिकूल असर पर्ने अवस्था देखिएमा अनुगमनमा खटिएका टोली र सम्बन्धित सुरक्षा निकायले नियन्त्रणमा लिई कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाउन विज्ञप्तिमा भनिएको छ ।
निर्वाचन (कसुर तथा सजाय) ऐन,२०७३ कोदफा२१ बमोजिम उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे वापत उपहार,पुरस्कार,इनाम,दान दातव्य वा बकसको रुपमा नगद वा जिन्सी दिन वा दिन मन्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मन्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुने जस्ता कार्य निर्वाचन कसुर भएकाले त्यस्तो कार्य कहीं कतै भए गरेको पाइएमा कानुन बमोजिम तत्काल कारवाही गरिने जानकारी विज्ञप्तिमा दिइएको छ ।


