नेपाल पत्रकार महासंघको सप्तरी शाखाको आइतबार गरिरहेको अधिवेशनस्थलमा सदस्यताका ईच्छुक सञ्चारकर्मीहरुले प्रदर्शन गरेका छन् ।
सप्तरी शाखाको ११ औं अधिवेशन तथा साधारणसभा सप्तरीकै तिरूहुत गाउँपालिका –५ लोहजारस्थित ठाकुर बाबा दह पर्यटकीय स्थलमा औपचारिक रुपमा भइरहेको हो ।
अधिवेशनको उद्घाटन सत्र सुरु भएसँगै महासंघको नयाँ सदस्यताका ईच्छुक आवेदक पत्रकारहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले हामीलाई सदस्यता किन दिइएन ? के हामी अपराधी हौँ ? सदस्यताको अधिकार किन खोसियो ? के हामी पत्रकार होइनौँ र ? हाम्रो के अपराध भन्ने नारा लेखिएको व्यानरका साथ प्रदर्शन गरेका हुन् ।
अगामी निर्वाचनमा मतदान गर्नसक्ने अधिकारसहित सदस्यताको लागि बन्द सत्रमा पहल गरिदिन भन्दै उनीहरूले कार्यक्रममा रहेका महासंघका केन्द्रीय प्रतिनिधिलाई ज्ञापनपत्र बुझाएका हुन्।
महासंघको सप्तरी शाखाले नयाँ सदस्यताको सम्बन्धमा कुनै निर्णय नै नगरेर पत्रकारको अधिकारको हनन तथा कुण्ठित मानसिकताको प्रदर्शन गरेको उनीहरुको ठहर छ ।
’समयमा सदस्यता सम्बन्धमा निर्णय नगरेर माथिल्लो निकायमा पुनरावेदन गर्ने अवसर समेत आफूहरुबाट खोसेको एक जना आवेदक पत्रकारले भनेका छन् । यसले हामी पत्रकारलाई महासंघमा नछिर्न दिने कुण्ठित मानसिकता दर्शाएको छ, उनीहरुले भनेका हुन्।

