बारा । बाराको सुवर्ण गाउँपालिकाका विभिन्न टोलमा चोरीका घटना बढ्दै गएपछि इन्जिनियर सुनिल कुमार यादवले चोरी नियन्त्रण तथा नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न सीसीटीभी क्यामेरा जडान र नियमित रात्रि गस्तीको व्यवस्था गर्न माग गरेका छन्।
गाउँपालिकाको हर्दिया, चरमोहना, गोठगाउँ र पचगछियालगायतका स्थानमा घरका पर्खाल तथा भित्ता फोडेर लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै यादवले स्थानीय सरकार र सुरक्षा निकायलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।
उनले सीमावर्ती संवेदनशील नाका, नहर सडक तथा मुख्य बजार क्षेत्रमा सीसीटीभी क्यामेरा र सडकबत्ती जडान गर्नुपर्ने बताएका छन्। साथै, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरी नियमित रात्रि गस्ती सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।
नागरिकलाई आश्वासन मात्र नभई सुरक्षाको प्रत्याभूति आवश्यक रहेको उल्लेख गर्दै यादवले गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले नागरिकको सुरक्षासम्बन्धी जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताएका छन्।
यसैबीच, चोरीको हल्ला र आशंकाका आधारमा औरैयामा दलित समुदायका व्यक्तिमाथि भएको भनिएको कुटपिटको घटनाको पनि यादवले भर्त्सना गरेका छन्। कुनै पनि व्यक्तिलाई शंका वा आरोपकै आधारमा कुटपिट गर्नु गलत भएको उल्लेख गर्दै उनले कानुन हातमा लिने प्रवृत्ति रोक्न सम्बन्धित निकायसँग माग गरेका छन्।
यादवले स्थानीय सरकार र प्रशासनलाई सात दिनभित्र सर्वपक्षीय समन्वय बैठक आयोजना गर्न तथा १५ दिनभित्र लागत अनुमानसहितको प्रारम्भिक कार्ययोजना सार्वजनिक गर्न समयसीमा दिएका छन्।
तोकिएको समयभित्र आवश्यक पहल नभए जिल्ला प्रशासन कार्यालय, संघीय सांसद र गृह मन्त्रालयसम्म विषय उठाउने तथा हस्ताक्षर अभियानमार्फत सामूहिक दबाब सिर्जना गर्ने उनले चेतावनी दिएका छन्।
सुवर्ण क्षेत्रमा बढ्दो चोरीका घटनाले स्थानीयवासीमा सुरक्षा चिन्ता बढाएको भन्दै यादवले चोरी नियन्त्रण, नियमित प्रहरी गस्ती र प्रविधिमैत्री सुरक्षा व्यवस्था कायम गर्न सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्नेमा जोड दिएका छन्।



