अत्याधिक गर्मी बढेर पठनपाठनमा समस्या हुन थालेपछि पर्साका विद्यालयहरुमा बिदा दिइएको छ ।
केही दिनदेखि लागातार रुपमा गर्मी बढेर विद्यार्थी तथा शिक्षकहरुलाई पठनपाठन गराउनमा समस्या भएको छ ।
जिल्लाका स्थानीय तहहरुले यसरी विदा दिएका हुन् ।पर्साका स्थानीय तहहरुले आफना पालिकाहरुमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा दिएका हुन् ।
पर्साको सदरमुकाम वीरगंज महानगरपालिकाले नगरक्षेत्र भित्रका विद्यालयहरुमा जेठ १६ गतेदेखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
पर्सागढी नगरपालिकाले जेठ १६ गतेदेखि १८ गतेसम्म तीन दिनको लागि नगरपालिका मातहत रहेका बाल विकास देखि कक्षा १२ सम्मका सबै विद्यालयहरु बन्द गर्ने सूचना जारी गरेको छ ।
त्यस्तै कालिकामाई गाउँपालिकाले पनि जेठ १६ देखि १८ गते सम्म तीन दिनको लागि विद्यालयहरुमा बिदा दिईएको गाउँपालिकाका निमित्त शिक्षा शाखाका प्रमुख मणिभुषण प्रसाद साहले जानकारी दिएका छन ।
मौसम पूर्वानुमान महाशाखाले पनि आगामी केहीदिनसम्म पर्सासहित तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाले ‘तातो दिन तथा तातो लहर’ सम्बन्धी विशेष बुलेटिन प्रकाशन गर्दै आगामी तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सोको असरबाट बच्न आवश्यक तयारीसहित सतर्कता अपनाउन अनुरोध गरेको हो ।
गर्मी बढेपछि पर्साका अभिभावकहरुले सामाजिक सञ्जालमार्फत पनि विद्यालयहरुमा बिदा दिन अनुरोध गर्दै आएका थिए ।

