खुला सीमा नेपाल–भारतबीचको सुमधुर सम्बन्धको सेतु रहेको पर्साको वीरगञ्जमा बुधबार आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
नेपाल–भारत खुला सीमा सम्वाद समूह,पर्साको आयोजनामा “खुला सिमा– सुमधुर सम्बन्धको सेतु” विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।
नेपाल–भारत खुला सीमा सम्वाद समूहका राष्ट्रिय अध्यक्ष डा.राजीव झाको अध्यक्षतामा सो अन्तरक्रिया भएको हो । सो कार्यक्रममा दुवै देशका अगुवाहरुको उपस्थिति रहेको थियो ।
समूहका राष्ट्रिय अध्यक्ष डा. झाले इपीजी रिपोर्ट बनाउने समिति समावेशी नभएको जनाए । उनले नेपाल–भारत सीमा सम्बन्धी ज्ञान नभएका व्यक्तिहरुले बनाएकोले नमान्ने बताएका छन् ।
उनले वल्र्ड ग्लोबलाइजेसन तर्फ अग्रसर भैरहेको बेला सीमामा तारबार लगाउने कुरा असान्दर्भिक र हास्यासपद रहेको समेत जनाएका हुन् ।
यस्तै अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले दुई देशबीच बहुआयामिक सम्बन्ध रहेको बताउदै ‘नेपाल र भारतको आधुनिक सीमा र नाम राखिनु अघिदेखि नै जनता–जनताबीच सम्बन्ध कायम रहेको जनाए ।
नेपाल र भारतको सम्बन्ध दिल्ली र काठमाडौंको नियम कानुनले मात्रै चल्न सक्दैन उनले भने । किनकि यहाँ बहुआयामिक सम्बन्ध छ । खुला सीमा अवसर हो दुवै देशको लागि र यहाँका जनता रक्षक हुन् उनले भने ।
त्यस्तै कार्यक्रमका अर्का वक्ता वरिष्ठ पत्रकार चन्द्रकिशोरले सीमा सुरक्षाको नाममा मधेशमा सैनिकिकरण भैरहेको जनाए । सीमा क्षेत्रमा रहेका जनताहरुको भावना अनुरुप नियम कानुन बनाउनु पर्ने बताए ।
भारत रक्सौलका समाजसेवी महेश अग्रवालले खुला सीमा दुबै देशका जनताको आवश्यकता रहेको जनाए । प्रदेश सदस्य श्याम पटेलले सरकारले चाहदैमा बोर्डरमा तारबार लगाउन नमिल्ने जिकिर गरे ।
प्राध्यापक डा. प्रमोद कुमार कुशवाहाले शिक्षा प्रणाली नै ठीक नभएकोले सीमा सम्बन्धी जनतामा भ्रम रहेको बताएका छन् ।
कार्यक्रममा डा. घनश्याम ठाकुर,नेजामुदिन समानी,कृष्णा पटेल,रम्भा मिश्रा,शिव पटेल,शिपु तिवारी,देवेन्द्र मिश्र,अशोक वैद्य,भारतीय महावाणिज्यदूतावासका शशि भुषण,अनिरुद्ध सिंह कल्वार लगायत समाजका अगुवा,बुद्धिजीवी,प्राध्यापक,अधिवक्ता,पत्रकार,राजनीतिकर्मीको विशेष उपस्थिति थियो ।


