पेटभर्वा वडा कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या,विना बोर्डको कार्यालय सञ्चालन

साझेदारी दैनिक
271 पाठक संख्या

रौतहट,२२ साउन । ओम प्रकाश यादव/

रौतहटको फतुवा विजयपुर नगरपालिकाको तिनवटा वडा कार्यालयको आफनो भवन नहुँदा भाडाको घरमा सञ्चालन हुँदै आएको छ । आफनो भवन नहुँदा वडा नं। ६ पेटभर्वाको वडा कार्यालय स्थानीय तह स्थापना भएदेखी नै भाडाको घरमा सञ्चालन हुँदै आएको छ ।

फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ सहित तिनवटा वडा कार्यालय भाडाको घरमा सञ्चालित छ । यसरी यी वडा कार्यालयका आफनै भवन नहुँदा दैनिक सेवा प्रवाहमा समस्या हुने गरेको वडा कर्मचारीहरु बताउँछन् ।

वडा नम्बर ६ पेटभर्वाको वडा कार्यालय टालीले छाएको दुइवटा सानो सानो कोठा भएको भाडाको घरमा सञ्चालित छ । वडा कार्यालयले भाडा वापत घरधनीलाई मासिक ६ हजारको दरले वार्षिक ७२ हजार रुपैयाँ तिर्दै आएको छ ।

ति वडा कार्यालय अगाडि कार्यालयको बोर्ड पनि छैन । विना बोर्डको ति वडा कार्यालय विगत ८ वर्षदेखी सञ्चालन हुँदै आएपनि त्यहाका वडा अध्यक्षले कार्यालयको एउटा बोर्ड समेत लगाउन सकेका छैनन ।

कार्यालय लेखिएको बोर्ड नहुँदा बाहिरबाट काम विषेशले आउने कतिपय मान्छेलाई वडा कार्यालय कहाँ छ भन्ने कुरा नै थाहा नहुने गरेको गुनासो छ । बोर्ड नराखिएको कारण ति कार्यालयलाई बाहिरबाट हेर्दा वडा कार्यालय जस्तो देखिदैन त्यस कारण वडा कार्यालय पहिचान गर्न नै समस्या हुने गरेको पाइएको छ ।

अहिले भाडामा लिएका कार्यालय भवनबाट दैनिक कार्य सञ्चालन गर्न असजिलो भए पनि जेनतेन काम चलाइरहेको पेटभर्वा वडा कार्यालयको कर्मचारीहरु बताउँछन् । वडाको आफ्नै भवन नहुँदा कार्य सम्पादनमा ठुलो समस्या हुने गरेको र आम नागरिकको सेवा प्रवाह समेत प्रभावकारी नभएको कर्मचारीहरुको गुनासो छ ।

विभिन्न कार्यक्रम र विकास निर्माण कार्यमा वार्षिक लाखौं करोडौं बजेट सिध्याउने जनप्रतिनिधिहरु पालिका र वडा कार्यालयहरुको आफनै भवन निर्माण गर्न चासो नलिदा वडाले भाडा वापत वार्षिक करिव लाखौं रकम तिर्दै आएको स्थानीयहरुको गुनासो छ ।

यता वडा कार्यालयको आफनै भवन निर्माण कार्य शुरु गरिसकेको र बजेट अभावका कारण भवन निर्माण गर्न समस्या उत्पन्न भएको वडा नं। ६ का वडा अध्यक्ष रामएकवाल राय यादवले बताए ।

भवनको कुर्सी निर्माणसम्मको काम सकिसकेको र अब बाँकी काम पनि चाडै सकिने वडा अध्यक्ष यादवले बताए । गत वर्ष भवनको बाँकी कामका लागि वडाबाट बजेट विनियोजन गरेको तर जनप्रतिनिधिबीचको विवादका कारण बजेट सञ्चालन हुन नसक्दा भवनको काम अगाडि बढन नसकेको उनले बताए ।

अब यस चालु आर्थिक वर्षको बजेटबाट उक्त अधुरो भवनको काम सम्पन्न गरी आफनै भवनबाट वडा कार्यालय सञ्चालन गर्ने तयारी गरेको उनको भनाई छ ।

त्यस्तै फतुवा विजयपुर नगरपालिका कार्यालयको पनि आफनो भवन नहुँदा दैनिक सेवा प्रवाहमा समस्या हुँदै आएको छ । फतुवा विजयपुर नगरपालिका कार्यालय समेत अझै घाडाकै घरमा सञ्चालित छन ।

पालिका कार्यालयको आफनै भवन बनाउन त्यहाँका जनप्रतिनिधिले अझै कुनै छाटकाट नदेखाएकोले भवन कहिले बन्छ भन्ने कुराको सुनिश्चित छैन ।

जनप्रतिनिधिको पहिलो प्राथमिकतामा सवारी साधन परेकाले नगर र वडा कार्यालयका भवन निर्माण हुन नसकेको आरोप स्थानीयको छ । भवन संरचना नभएपछि स्थानीय तह महँगो भाडा तिरेर कार्यालय सञ्चालन गरिरहेको फतुवा विजयपुर नगरपालिकाकी कार्यवाहक नगर प्रमुख अमबेया खातुनले बताइन ।

Leave a review