रौतहटको छुट्टा–छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

साझेदारी दैनिक
330 पाठक संख्या

रौतहट । ओम प्रकाश यादव/ रौतहटको छुट्टा–छुट्टै स्थानमा गएराति भएको सवारी दुर्घटनामा दुई जना व्यक्तिको मृत्यु भएको छ ।

जिल्लाको गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत पर्ने गरुडा नगरपालिका–४ गरुडा दुर्गा मन्दिर नजिक अटो ई–रिक्साले ठक्कर दिदा गढिमाई नगरपालिका–१ घर भई हाल गरुडामा बस्दै आएका ३५ वर्षिय राम साह रौनियारको मृत्यु भएको छ ।

बिहिवार राति साढे ८ बजेको समयमा गरुडाबाट शिवनगरतर्फ तिव्र गतिमा जादै गरेको मधेश प्रदेश ०३–००१ ह ३४१४ नम्बरको अटो–इरिक्साले पैदल जादै गरेका रौनियारलाई पछाडिबाट नै ठक्कर दिएको थियो ।

अटो–इरिक्साले ठक्कर दिदा टाउकोमा गहिरो चोट लागी गम्भीर घाइते भएका रौनियारलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि गरुडामा रहेको हेल्थ ल्याण्ड हस्पिटलमा लगेको थियो ।

तर त्याँहा उपचार सम्भव नभएपछि थप उपचारका लागि बाराको कलैया स्थित रहेको न्यूरो हस्पिटलमा लगिएकोमा राति साढे १० बजेको समयमा रौनियारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) एलिजा गिरीले जानकारी दिएकी छन् ।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको र रौनियारलाई ठक्कर दिने ई–रिक्सा चालक गरुडा नगरपालिका–५ लक्ष्मीपुरका गणेश साहलाई प्रहरीले पक्राउ गरेको डीएसपी गिरीले बताइन ।

इ–रिक्सा सहित पक्राउ परेका चालक साह इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

चालकले अत्याधिक मदिरा सेवन गरी तिव्र गतिमा गाडी गुडाएको कारण अनियन्त्रित भई सडकको छेउमा पैदल हिडिरहेका रौनियारलाई ठक्कर दिएको बताइएको छ ।

मृतक रौनियार माधवनारायण नगरपालिका–४ विशुनपूर्वा मानपुर माध्यमिक विद्यालयका शिक्षक रहेका थिए । उनी दुई वर्षदेखी त्याँहा अध्यापन गराउँदै आएका थिए । जिल्लाको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाउने शिक्षक रौनियारको दुखद निधनले रौतहट शोकमग्न भएको छ ।

यसैविच गएराति नै मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ ।

जिल्लाको कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्हरीया सडक खण्डमा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कटहरिया नगरपालिका–९ डुमरियाका वर्ष २६ का रामजनम पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मधेस प्रदेश ०३–०२८ प ४९४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका पासवानको कटहरियामा उपचार सम्भव नभएपछि थप उपचारको लागि प्रादेशिक अस्पताल गौर पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

Leave a review