रौतहटमा जितिया व्रतालु पोखरीमा डुबेर मृत्यु

साझेदारी दैनिक
321 पाठक संख्या

रौतहट : जितिया व्रतालुको नुहाउने क्रममा पोखरीमा डुबेर रौतहटमा एक जनाको मृत्यु भएको छ।

जिल्लाको राजदेवी नगरपालिका–८ लक्ष्मीपुर गाउँ छेउको पोखरीमा सोमबार दिउँसो नुहाउने क्रममा स्थानीय ४५ वर्षीया गिरिजा देवी कानुको डुबेर मृत्यु भएको हो ।

व्रतालु महिला नुहाउने क्रममा डुबेको खबर पाएपछि सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बेलविछवा र प्रहरी चौकी वेलविछवाबाट गएको संयुक्त टोलीले महिलाको उद्धार गरी तत्कालै प्रादेशिक अस्पताल गौरमा उपचारको लागि पठाएको थियो।

तर डाक्टरले महिलालाई मृत घोषणा गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईले जानकारी दिएका छन्।

मृतक महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको तथा घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् ।

उता माधव नारायण–८ रजवडास्थित बागमती नदीमा जितिया पर्वको लागि साथीहरूसँग नुहाउन गएका एक जना युवक बेपत्ता भएका छन्।

१८ वर्षीय श्यामलाल सहनी सोमबार दिउँसो साथीहरूसँग बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपता भएको सशस्त्र प्रहरीका एसपी हुमागाईंले बताएका छन ।

Leave a review