रौतहट,ओम प्रकाश यादव/ बाढीले देश सहित रौतहटमा पनि जनधनको क्षति पु¥याएको छ ।
गएको असोज १०, ११ र १२ गते लगातार भएको भारी वर्षाका कारण बाढी आएको हो।
१२ गते बागमती,लालबकैया लगायतका नदी तथा खोलाहरुमा आएको बाढीको पानी तटबन्ध कटान गरेर मानव वस्तीमा प्रवेश गर्दा रौतहटमा हजारौं घर डुबानमा परेको हो। यसबाट पाँच हजार भन्दा बढी व्यक्ति विस्थापित हुन पुगेका छन्।
अविरल वर्षासँगै असोज १२ गते रौतहटको दुई ठुला नदी बागमती र लालबकैया नदीमा आएको भिष्ण बाढीले रौतहटमा ठुलो संख्यामा जनधनको क्षति भएको छ।
जिल्लाको पूर्वी भेगस्थित रहेको बागमती नदी र पश्चिमी भेगमा रहेको लालबकैया नदीमा आएको बाढीको पानी तटबन्ध कटान गरी बस्तीमा प्रवेश गर्दा १८ वटा पालिका मध्ये १६ वटा पालिका प्रभावित भएको हो।
बाढीको पानी घरमा पस्दा घर सहित घरमा राखिएको अन्नपात,कपडा,भाडा वर्तन लगायतका सबै सामानहरु नष्ट हुनुका साथै बगाइदिएको छ। जस्को कारण खान,बस्न लगायत समस्या भएको बताउछन्, गौर नगरपालिका वडा नं. ५ का लतिफ महतो।
बाढीले धेरैको घर र घरमा राखिएको सबै सामानहरु बगाइदिएका कारण पीडितहरुलाई अहिले तत्काल खान,बस्न समस्या भइरहेकोले उनीहरुलाई राहतको आवश्यकता रहेको छ । धेरै पीडितहरु सबभन्दा नजिकको सरकार स्थानीय सरकारबाट राहतको पर्खाइमा छन्। अहिलेसम्म कुनै पनि स्थानीय सरकारले राहत बाँडन सकेको छैन ।
बाढीले आफुहरु घरवार विहिन भएपनि अहिलेसम्म स्थानीय देखी कुनै पनि सरकारका प्रतिनिधि वा कुनैपनि संघसंस्था हेर्न समेत नआएको पीडितहरुको गुनासो रहेको छ।
यहाँ सबभन्दा बढी माधवनारायण नगरपालिका र दुर्गाभगवती गाउँपालिका प्रभावित भएको छ ।
बाढीमा परेर जिल्लामा मानवीय क्षति कम भएपनि भौतिक रुपमा करोडौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बाढीले दुई जनाको मृत्यु भएको छ। छ जना घाइते भएका छन्।
बाढीले गौर,माधवनारायण,राजदेवी,दुर्गाभगवती लगाएत १६ वटा पालिकाको तीन दर्जनभन्दा बढी गाउँ पूर्ण रुपमा डुबानमा परेको छ। जस्को कारण पाँच हजार पाँच सय जनाभन्दा बढी विस्थापित भएका छन्।
अविरल वर्षासँगै गएको बाढीले जिल्लामा एक हजार आठ सय १० घरधुरीमा बसोबास गर्ने पाँच हजार ५९५ जना विस्थापित भएका छन्। १२ सय ४५ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक दिलिप घिमीरेले बताए।
बाढीका कारण १३ घर भत्केको छ। जिल्लाका सात ठाउँको सडक अवरुद्ध भएकोमा अहिलेसम्म चार ठाउँमा सडक सञ्चालनमा आएको छ। यहाँका आठ वटा प्रहरी चौकी समेत विस्थापित भएको छ।
विस्थापित हुने प्रहरी चौकीमा बेलबिछुवा,बसतपुर,बर्डवा,भन्सार सुरक्षा,कासुगार्ड,अस्थायी ट्राफिक पोष्ट गौर,इलाका प्रहरी कार्यालय बञ्जारा रहेका छन्। नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र स्वयम्सेवकले विपदमा फसेका एकसय २३ जनाको उद्धार गरेको छ।
बाढी आउन लागेको अनुमान भएपछि पूर्वतयारी गरेको कारण ठुलो संख्यामा हुन सक्ने मानवीय क्षतिलाई कम गर्न सफल भएको प्रहरी उपरीक्षक घिमिरेको दावी रहेको छ। जिल्लामा धान र तरकारी बालीमा ठूलो क्षति भएको छ ।
बाढीको कारण धान, उखु र तरकारी बालीमा भएको क्षतिको एकिन विवरण अझै आएको छैन। नदीको बाढी धानबालीमा पसेपछि जिल्लाभरीमा धान,उखु,तरकारी,केराखेती गरी अनुमानित १५ हजार भन्दा बढी बिगाहा क्षेत्रफलमा लगाइएको बालीनाली करिव ५ सय हेक्टर क्षेत्रफलको माछा नष्ट हुँदा कृषकहरुलाई करोडौंको क्षति भएको रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी रामनरेशराय यादवले बताए।
स्थानीय तहहरुसंगको समन्वयमा अहिले क्षतिग्रस्त भएका घर,बालीनाली र माछाको विवरण संकलन गर्ने काम भइरहेको छ। जिल्लाभरीका विवरण आउने वित्तिकै पीडितहरुलाई राहत तथा किसानहरुलाई बालीनालीको क्षतिपुर्ति दिलाउने काम हुने सहायक प्रमुख जिल्ला अधिकारी यादवले बताए। देशमा तीन तहको सरकार भएपनि आपत विपद परेका बेला उसले गर्छ उसले गर्छ भनी तिनै तहको सरकारले समस्यामा परेका नागरिकलाई सहयोग गर्न ढिलाइ गर्ने गरेको छ।
जस कारण पीडितहरु समयमा स्थानीय, प्रदेश वा केन्द्र सरकारबाट सहयोग पाउनबाट बञ्चित हुने गर्दछन । त्यस कारण सबै सरकारले नागरिकप्रति जिम्मेवार भइ विपत्तका बेला समस्यामा परेका नागरिकलाई तत्काल सहयोग गर्नुपर्दछ ।

