रौतहट,ओम प्रकाश यादव/ आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले बाढी,पहिरोबाट प्रभावित जिल्ला घोषणा गर्दा विभेद गरेको आरोप लगाएका छन्। साहले यसलाई तत्काल सच्याउन माग गरेका हुन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको शुक्रबार बसेको बैठकले १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। सो लगत्तै पूर्वमन्त्री साहले सरकारको उक्त निर्णयको विरोध गरेका छन्।
उनले १४ जिल्लालाई मात्र विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नु गैरजिम्मेवार एवं सम्प्रदायिकताको पराकाष्टा भएको आरोप लगाए। उनले सरकारलाई उक्त निर्णय तुरुन्त सच्याउन विशेष आग्रह गरेका छन्।
साहले बाढीबाट मधेश प्रदेशका जिल्लाहरु अति प्रभावित बनेको जनाए। अहिलेपनि हजारौंको संख्यामा मधेशका नागरिक विस्थापित हुनु परेको बताए।
रौतहट,सप्तरी,सर्लाही,धनुषा,सिराहाका जनता अहिलेपनि बाढीबाट प्रत्यक्ष प्रभावित बनेको सुनाए। उनीहरुलाई विभेद गर्नु राज्यको चरम लापरवाही र उदासिन भएको उनको टिप्पणी छ।
सरकारले घोषणा गरेका संकटग्रस्त १४ जिल्लामा ताप्लेजुङ,काभ्रे,पाँचथर,काठमाण्डौँ,संखुवासभा,ललितपुर,सोलुखुम्बु,भक्तपुर,दोलखा,सिन्धुली,रामेछाप,मकवानपुर, सिन्धुपाल्चोक र धादिङ रहेका छन्।


