वीरगञ्ज : जिल्ला प्रशासन कार्यालय पर्साले चाडपर्व सभ्य र मर्यादित बनाउन आग्रह गरेको छ।
एक सार्वजनिक अपिल जारी गर्दै वडा दशैं,तिहार,छठ पर्व मर्यादित बनाउन उसले शुक्रबार आग्रह गरेको हो। जिल्ला प्रशासन कार्यालय पर्साले वस्तुको अनुचित तवरले मूल्य वृद्धि नगर्न आग्रह गरेको छ।
अखाद्य वस्तुको विक्री वितरण नगर्न प्रशासनले भनेको छ। सवारी साधनको भाडामा मूल्य बृद्धी नगर्ने नगराउन प्रशासनले आग्रह गरेको छ।
यस्तै माछा मासु बिक्री गर्ने व्यवसायीहरुले माछामासु बिक्री गर्ने स्थल,माछामासु काट्ने स्थानको सरसफाई कायम गर्ने गराउने निर्देशन दिएको छ ।
माछामासु राख्ने ठाउँ सफा राख्ने र राख्न लगाउने,माछा मासु काट्ने व्यक्तिले सफा एप्रोन लगाउने,माछा मासु काट्ने औजार सामाग्रीको सरसफाइ गर्ने गराउने र सफा पानीको मात्र प्रयोग गर्ने,माछा मासु बिक्री गर्ने स्थल सफा सुरक्षित र व्यवस्थित रुपमा विक्री वितरण गर्न पनि प्रशासनले सार्वजनिक अपिलमा भनेको छ।
चाडवाडको समयमा सवै सरोकारवाला व्यक्ति वा संस्था अझै बढी जिम्मेवार हुनु आवश्यक भएको व्यहोरा अनुरोध गर्दै उपभोक्ताका अधिकार सुरक्षित गर्न खाद्य वा गैरखाद्य वस्तुको सर्वसुलभता,नियमितता,उचित तौल एवं उचित मूल्यमा उपलब्ध गराउन यस्तो अनुरोध जिल्ला प्रशासनले गरेको हो।

