रौतहट : ओम प्रकाश यादव/ रौतहटमा यतिखेर चुनावी सरगर्मी ह्वात्तै बढेको पाइएको छ ।
यही मङ्सिर १६ गते जिल्लाको तीन ठाउँमा हुन् लागेको उपनिर्वाचनको समय नजिकिँदै जाँदा नेता तथा कार्यकर्ताले चुनावी गतिविधि बढाएपछि चुनावी सरगर्मी बढेको हो ।
जिल्लाको गढीमाई नगरपालिका -८,राजपुर नगरपालिका -६ र ईशनाथ नगरपालिका -७ गरी यी तिनवटै वडामा अध्यक्ष पदका लागि मङसिर १६ गते उपनिर्वाचन हुन लागेको छ।
वडा अध्यक्षहरुको निधन भएको कारण रिक्त पदहरूमा उपनिर्वाचन हुँदै छ। उपनिर्वाचन हुन् लागेको यी तीनवटै वडामा एकसाथ चुनावी सरगर्मी बढेको देखिएको छ।
तीनवटै वडामा आ-आफ्ना उम्मेदवारलाई जिताउन केन्द्रदेखि प्रदेश र जिल्ला स्तरका नेता तथा कार्यकर्ता जिल्लामा केन्द्रित भएर प्रचारप्रसारमा लागेका छन् ।
निर्वाचनको दिन नजिकिँदै जाँदा उम्मेदवार तथा राजनीतिक दलले चुनाव प्रचारप्रसार अभियानलाई तीव्रता दिएका छन् ।
पार्टीका नेताहरुले अहिले मतदाता रिझाउन व्यस्त छन्। आ-आफ्ना पार्टीका उम्मेदवारको पक्षमा मत तान्न नेताहरु अहिले पुरै ताकत लगाईरहेका छन्।
नेता तथा उम्मेदवारहरुले आ–आफ्ना दलका नेता,कार्यकर्ता तथा समर्थकलाई साथमा लिएर घरदैलो अभियान सञ्चालन गरी मत मागिरहेका छन् ठाउँ ठाउँमा चुनावी सभा र आम सभाको पनि आयोजना गरिरहेका छन् ।
यस क्रममा उम्मेदवारले आफ्ना घोषणापत्र,सङ्कल्पपत्र र प्रतिबद्धतापत्र मार्फत स्थानीय स्तरको विकास र विस्तारसम्बन्धी चुनावी मुद्दा र एजेन्डाहरू मतदातासमक्ष प्रस्तुत गरिरहेका छन् ।
गढिमाई नगरपालिका -८ मा अहिलेसम्म दुई पार्टीका केन्द्रिय नेता चुनाव प्रचार प्रसार र गतिविधिमा सहभागी भईसकेका छन्।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाशक शर्मा रौतहटमा चुनावी गतिविधिमा सहभागी भईसकेका छन् भने अन्य पार्टीका केन्द्रीय नेताहरु समेत आउने क्रममा रहेका छन्।
आफ्ना पार्टीका उम्मेदवारलाई जिताउन केही दिन अघि मात्र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव गढिमाई -८ मा विशाल आमसभामा सहभागी भएका थिए।
जसपा नेपालले सो वडामा संदेश यादवलाई उम्मेदवार बनाएको छ।
गढीमाई नपा -८ विरनगरामा यस अघि जसपा नेपालबाट नै राम्अज्ञा यादव निर्वाचित भएका थिए तर उनको निधन भएपाछि अहिले सो ठाउँमा उपनिर्वाचन हुन लागेको छ।
वडा अध्यक्ष रामअज्ञा यादवको निधन भएपछि उनको श्रीमति जिउती देवी यादव अहिले एमालेबाट उम्मेदवारी दिएकी छिन्।
सो वडामा जसपा नेपाल जितेको कारण पुनः वडा अध्यक्ष पद कब्जा गर्न जसपा नेपालले पुरै ताकत लगाईरहेका छन्।
यता गढीमाई -८ को निर्वाचन नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णा प्रसाद यादवको प्रतिष्ठा संग जोडिएको छ।
सो वडामा सभापति यादवको गृह वडा अर्थात घर रहेको कारण आफ्ना उम्मेदवारलाई जसरी पनि जिताउनुुपर्ने बाध्यता कांग्रेस सभापति यादवको रहेको छ ।
त्यहाँ काँग्रेसका सुबोध कुमार यादव उम्मेदवार छन् । मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका सभापति यादव मधेश प्रदेश संसदीय दलका नेता पनि हुन् ।
सो वडामा आफ्ना पार्टीका उम्मेदवार सुबोध यादवलाई जिताउन सभापति यादवले कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई दुई दिन अघि बोलाएर घरदैलोमा सहभागी गराएका छन्।
घरदैलोमा सहभागी भएका कांग्रेस महामन्त्री शर्माले रौतहटको तीन ठाउँमा हुन् लागेको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन आह्वान गरेका थिए।
कांग्रेस सभापति यादवले आफ्ना गृह वडाको चुनाव जित्न पुरै ताकत लगाईरहेका छन्। मतदाता रिझाउन उनी अत्यन्त सकृय भएर लागेका छन् । तर कांग्रेस पार्टीमै रहेका युवा नेता सन्देश यादवले अन्तिम समयमा जसपा नेपालबाट उम्मेदवारी दिएकाले सभापति यादवका लागि चुनौती बनेको छ ।
तर पछिलो समय जसपा नेपालको जनाधार खस्किएको दावीगर्दै काँग्रेसका नेताहरुले चुनाव जित्ने ठोकुवा गरिरहेका छन् ।
आफ्ना पार्टीको पक्षमा ठूलो जनाधार रहेको कारण गढीमाई -८ को निर्वाचन बहुमत सहित आफूहरु जित्ने कांग्रेसका नेताहरुको दावी छ।
गढीमाई -८ कांग्रेस प्रदेश सभापति यादवको वडा रहेको कारण त्यो चुनाव प्रदेशमा सर्वाधिक चर्चामा रहेको छ ।
सो वडामा नेकपा एमाले,माओवादी,नेकपा एस,जनमत लगाएतका दलले पनि उम्मेदवारी दिएको छ।
चुनाव प्रचारमा विभिन्न दलका केन्द्रीय पदाधिकारीहरु घरदैलोमा उत्रेका छन् । वडाको चुनावमा दलका केन्द्रीय नेताहरु घरदैलोमा सहभागी भएसंगै चुनावी चहलपहल बढेको छ ।


