तेह्र सय फरार प्रतिवादी पक्राउ

रासस
214 पाठक संख्या

काठमाडौँ, १२ पुस : चालु आर्थिक वर्ष २०८१÷८२ को हालसम्ममा फैसला कार्यान्वयनअन्तर्गत एक हजार दुई सय ९८ फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत साउनमा एक सय २९,भदौमा तीन सय ९९,असोजमा एक सय ८४,कात्तिकमा एक सय तीन,मङ्सिरमा दुई सय आठ र यही पुसको ११ गतेसम्म दुई सय ७५ फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी पसिरर काठमाडौँले बिहीबार मात्रै ७१ फरार प्रतिवादी पक्राउ गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेकालालाई अदालतसमक्ष पेस गरिएको उहाँको भनाइ छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले फैसला कार्यान्वयनअन्तर्गत फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान नै सञ्चालन गरेको थियो । चालु आवको हालसम्म पक्राउ परेका प्रतिवादीविरुद्ध रु चार करोड ४९ लाख ५३ हजार आठ सय ५९ जरिवाना र एक सय २० वर्ष १० दिन कैद फैसला भएको छ ।

प्रहरीले विभिन्न कसुरमा जरिवाना तथा कैद सजाय भई फरार रहेका प्रतिवादी लुकीछिपी बसिरहेको जानकारी भए सूचना दिन सर्वसाधारणमा आग्रह गरेको छ ।

यसैबीच, जिल्ला प्रहरी परिसर काठमाडौँले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी वृत्त बौद्ध,प्रहरी प्रभाग साँखु र बूढानीलकण्ठलाई पुरस्कृत गरेको छ ।

Leave a review

This will close in 0 seconds