सुनसरी झडपपछि सीडीओसहित सुरक्षा प्रमुख तानिए

साझेदारी डेलि
154 पाठक संख्या

बारा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा आइतबार राति दुई पक्षबीच भएको झडपपछि गृह मन्त्रालयले जिल्लाका प्रशासनिक तथा सुरक्षा निकायका प्रमुखहरूलाई जिम्मेवारीबाट हटाएको छ।

घटनाको समयमा परिस्थिति नियन्त्रण र प्रशासनिक समन्वयमा कमजोरी देखिएको निष्कर्ष निकाल्दै मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित प्रदेश तथा जिल्ला तहका उच्च सुरक्षा अधिकारीलाई फिर्ता बोलाएको हो।

मन्त्रालयको निर्णयअनुसार सीडीओ घिमिरेलाई गृह मन्त्रालयमा तानिएको छ भने उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याललाई सुनसरीको नयाँ सीडीओका रूपमा खटाइएको छ।

यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौं फिर्ता बोलाइएको छ। उनको स्थानमा डीआईजी शेखर खनाललाई पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ भने उनको ठाउँमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी प्रहरीको कमान्ड दिइएको छ।

त्यसैगरी, घटनास्थल कप्तानगञ्जमा कार्यरत सशस्त्र प्रहरी बल नेपालका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उनको स्थानमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट डीएसपी मदन नाथलाई खटाइएको छ।

देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणमा लिने क्रममा स्थिति हिंसात्मक बन्दा एक जनाको मृत्यु भएको थियो। झडप तथा त्यसलाई नियन्त्रणमा लिने क्रममा ९ जना सर्वसाधारण, नेपाल प्रहरीका १० जना र सशस्त्र प्रहरीका ५ जना गरी २४ जना घाइते भएका छन्।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाई एक साताभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।

यसैबीच, थप अशान्ति हुन नदिन र शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका प्रभावित क्षेत्रमा आज बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।

Leave a review