जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा बजार व्यवस्थापन,सरसफाइ र ट्राफिक गतिबिधिको बिषयमा समाजिक सञ्जालमा आलोचना हुन थालेपछि यसकोलागि विशेष योजना सार्वजनिक गरिएको छ ।
आइतबार वडा कार्यालयमा वडाध्यक्ष सुनिल कुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले जीतपुर क्षेत्रको व्यवस्थापन सुधार गर्ने निर्णय गरेको हो। बैठकले आगामी वैशाख १६ गतेदेखि सात दिनसम्म ‘ट्राफिक सप्ताह’ मनाउने तय गरेको छ।
उक्त अवधिमा टेढा सडक क्षेत्रमा देखिएको ट्राफिक समस्यालाई समाधान गर्न सवारी पार्किङलाई व्यवस्थित गरिनेछ। तोकिएको स्थानबाहिर पार्किङ गरेको पाइएमा अनधिकृत सवारी हटाइनेछ। साथै,सवारी व्यवस्थापनमा सुधार ल्याउन कडाइ गरिनेछ ।
बजार क्षेत्र र घरबाट निस्कने फोहोरको उचित व्यवस्थापनका लागि जनचेतनामूलक सन्देश प्रकाशन गरिने र फोहोर अनियन्त्रित रूपमा फाल्ने तथा ट्राफिक नियम उल्लंघन गर्नेहरूमाथि स्थानीय कानुनअनुसार कारबाही गरिने बैठकले निर्णय गरेको छ ।
वडाध्यक्ष गुप्ताले जीतपुर क्षेत्रको सौन्दर्य र शान्तिपूर्ण वातावरण जोगाउन सरसफाइ र ट्राफिक व्यवस्थापन अनिवार्य रहेको बताए। “अब हामी सचेतना मात्र होइन,कार्यान्वयनमा पनि विशेष जोड दिनेछौं,“ उनले बैठकमा भने। बैठकमा ट्राफिक प्रहरी,बजार व्यवस्थापन समिति,वडा जनप्रतिनिधि तथा स्थानीय अगुवाहरूको पनि सहभागिता रहेको थियो। सहभागीहरूले जितपुर बजारलाई व्यवस्थित बनाउन सबै पक्ष एकजुट भएर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
बैठकमा नगर प्रमुखको स्वकिय सचिव उदय श्रेष्ठ,नगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मनोज गुप्ता,फकिरा गिरी राजेश्वर गिरी मा.बि.का प्रधानध्यापक राजु कुमार सिँह,मधेश प्रदेश ट्राफिक कार्यालय पथलैयाका प्रहरी निरिक्षक सोभन बिक्रम राणा,ईलाका प्रहरी कार्यालय जीतपुरका बरिष्ठ प्रहरी नायब निरिक्षक जे जंग कार्की,नगर प्रहरी ईन्चार्ज रबिन कुमार खड्का,अस्थाई ट्राफिक प्रहरी पोष्ट जीतपुरका प्रहरी हवलदार मौजेलाल प्रसाद जैसवाल लगायतको सहभागिता रहेको थियो ।

