कलैया : तराई मधेसको सबै भन्दा ठुलो र महत्वपूर्ण मानिने छठ पर्वका लागि बाराका छठ घाटहरु दुलही झै सिंगारिने कार्य सुरु भएको छ ।
जिल्लाको १६ पालिकाको बिभिन्न स्थानमा रहेको छठघाटहरु यतिखेर सजीसजावट गरि सिगारिने कार्य भईरहेका हो । निकै श्रद्धाभक्ति र धार्मिक सहिष्णुताको प्रतीकको रुपमा रहेको छठ पर्वका लागि जिल्लाको कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, कोल्हवी नगरपालिका, सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका, आर्दशकोतवाल गाउँपालिका, बारागढी गाउँपालिका, करैयामाई गाउँपालिका, देवताल गाउँपालिका, सुवर्ण गाउँपालिका, फेटा गाउँपालिका, बिश्रामपुर गाउँपालिका, प्रसौनी गाउँपालिका र परवानीपुर गाउँपालिकाका छठि घाटहरु दुलही झै सिंगारिने कार्य भईरहेको छ ।
जिल्लाको हजारौ छठ घाटहरुमा केही दिनदेखी सरसफाई , बिजुली बती लगाउने, टेण्ड लगाउन जस्ता कार्यले सिंगारिने कार्य शरु भएको हो । सदरमुकाम कलैयाको मुख्य अकार्षकको रुपमा रहेका रामजानकी पोखरी छठीघाट, सिद्देश्वर पोखरी छठ घाट, रामपुर, टेगंरहर नदी छठि घाटहरु सजीसजावटका कामहरु धमाधम भईरहेको छ ।
यसैबीच बिहीबार बिहान कलैया उपमहानगरपालिका वडा नम्बर १७ ब्रहम्पुरीमा रहेको छठ घाटमा सरसफाई गरिएको छ । स्थानीय बंगरी खोला किनारमा रहेको छठी घाट सरसफाई गरिएको हो । गाउँपालिका सयौ युवाहरु बिहान कोदालोको प्रयोग गरी छठ घाटको सरसफाई गरेका हुन । छठ पर्व गर्दा चर्मरोग निको हुने, सन्तान प्राप्ती हुने र मनोकांक्षापूर्ण हुने जनविश्वास रहेको छ ।
तराई मधेसमा मात्र सिमित रहेको छठ पर्व केही बर्षदेखी विस्तारै पहाडी र हिमाली भेगमा समेत मनाउन थालिएको छ । यो पर्व एक भेग एक भूगोलको मात्र नभएर सम्पूर्ण देशको राष्ट्रीय पर्वको रुपमा विकसित भइरहेको श्रद्धालुहरु बताउछन्।
छठ पर्व कार्तिक ८ गते शनिबार (आज ) नहाएखाए, कार्तिक ९ गते आईतबार खरना ,कार्तिक १० गते सोमबार साझ ब्रतालुहरुले अस्ताउदो सुर्य र कार्तिक ११ गते मंगलबार बिहान उदाउदो सुर्यलाई अध्र्य दिएपछि छठ पर्व बिधिवत रुपमा सम्पन्न हुनेछ ।
यस्तै छठ पर्व नजिकिएसंगै पर्साको वीरगञ्जमा रहेको घडिअर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटसहितका पोखरीलाई विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम तीब्र रुपमा भइरहेको छ ।


