कलैया : मधेश प्रदेश क्रिकेट संघको आयोजनामा मधेश प्रदेश खेलकुद मन्त्रालयको सहयोगमा बाराको कलैया स्थित सिद्धेशवर क्रिकेट मैदानमा मंगलबार देखि मधेश क्रिकेट लिग सिजन एक शुरु भएको छ।
प्रतियोगिता अन्र्तगतको उदघाटन खेलमा बारा बिजयी भएको छ। बाराले सप्तरीलाई ७ बिकेटले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ्ग गरेको सप्तरीले निर्धारित २० ओभरमा ८ बिकेटको क्षतिमा १४३ रन बनाएको थियो । प्रत्युतरमा १४४ रनको बिजय लक्ष्य लिएर मैदानमा ओर्लेको बाराले १४ ओभर १ बलमा ३ बिकेटको क्षतिमा बिजय लक्ष्य पुरा गर्यो ।
सप्तरीका लागि अभिषेक कार्कीले अविजित रही ४३ रनको योगदान दिए। सप्तरीका रोहन बिक २८,राहुल बिक २२,बिकास दास २६,भोला साह १६ रनको योगदान दिए।
बाराका लागि निरज कुमार यादवले सर्वाधिक ६५ रनको योगदान दिएका थिए। बाराकै पवन सरार्फ ४१,साहिल पटेलले २० रन बनाए। बाराका बलर भुलावन सहनी ३,सिराज हवारी ३ र पवन सरार्फले दुई बिकेट लिए। सप्तरीका बलर पपु यादव,बिकास दास र महमद सकिम आलमले समान एक एक बिकेट लिएका थिए।
उक्त लिगको उदघाटन कार्यक्रमका प्रमुख अतिथि एवम् कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले बल हस्तान्तरण गरी गरेका हुन्।
जिल्ला क्रिकेट संघका अध्यक्ष प्रभात चौरसियाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मधेश प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुभाष जयसवाल,कलैया क्रिकेट संघका अध्यक्ष तसरुदिन मंसुर,कलैया उपमहानगरपालिकाका बाताबरण शाखाका प्रमुख अनिल पाण्डेय,स्वास्थ्य शाखाका मनोज यादव लगायतको सहभागिता रहेको थियो।
उक्त प्रतियोगितामा सञ्चालन जिल्ला क्रिकेट संघका सचिव अनिल चौगाईको रहेको थियो।

