पर्यटन प्रवर्द्धनका लागि अमलेखगञ्जमा स्थलगत अभ्यास

रञ्जन यादव
264 पाठक संख्या

अम्लेखगंज । मधेस प्रदेशमा पर्यटन विकासलाई लक्षित गर्दै सञ्चालन गरिएको ‘कल्चर एण्ड हेरिटेज’ तालिमले व्यवहारिक अभ्यासलाई प्राथमिकता दिएको छ। तालिमको तेस्रो दिन सहभागीहरूलाई विभिन्न पर्यटकीय स्थलमा लगेर प्रत्यक्ष अवलोकन गराइएको हो।

अवलोकनका क्रममा सहभागीहरू अमलेखगञ्ज क्षेत्रमा हाइकिङ गर्दै सिद्धबाबा मन्दिर पुगेका थिए। करिब ४५१ मिटर उचाइमा अवस्थित उक्त मन्दिरको धार्मिक आस्था, ऐतिहासिक पृष्ठभूमि र पर्यटकीय आकर्षणबारे स्थलगत रूपमा जानकारी लिइएको थियो। साथै, सो क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार र सम्भावनाबारे छलफल गरिएको थियो।

त्यसैगरी, सहभागीहरूलाई पर्सा राष्ट्रिय निकुञ्जको महत्वबारे पनि अवगत गराइएको छ। निकुञ्जका सहायक वार्डेन सन्तोष भगतले जैविक विविधता, दुर्लभ वन्यजन्तु तथा संरक्षणका चुनौतीहरूबारे जानकारी दिएका थिए।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) को पहलमा दिगो पर्यटन परियोजनासँगको सहकार्यमा आयोजित तालिममा होटल तथा पर्यटन क्षेत्रमा संलग्न ३० जना सहभागी छन्। सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा सञ्चालन भइरहेको तालिम आइतबारसम्म चल्नेछ।

तालिममार्फत मधेस प्रदेशका मौलिक संस्कृति, परम्परा र ऐतिहासिक सम्पदालाई पर्यटनसँग जोड्दै व्यापक प्रचार–प्रसार गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

कार्यक्रममा प्राध्यापक डा. पशुपति न्यौपाने र गुठी संस्थानका राजेन्द्र दाहालले प्रशिक्षण दिइरहेका छन्। नाटा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेको नेतृत्वमा भइरहेको कार्यक्रममा पर्यटन व्यवसायीसहित विभिन्न सरोकारवालाको सहभागिता रहेको छ।

Leave a review