कलैया । बाराको वरियारपुरमा पञ्चवर्षीय गढीमाईको ऐतिहासिक मेला सम्पन्न भएको छ महिना वितिसकेपनि मेलामा खटेका पत्रकारहरुले आझै पारिश्रमिक पाएका छैनन्।
मेला अवधिभर दिनरात नभनी खटेका पत्रकारको पारिश्रमिक भुक्तानी नभई अझै अड्किएको छ। मेला सकिएको छ महिना बितिसक्दा पनि पारिश्रमिक नपाएको भन्दै पत्रकारले आक्रोश पोखेका छन्।
नेपाल पत्रकार महासंघ बारा शाखाका पूर्व अध्यक्ष रेशम तिवारीको संयोजकत्वमा गठन गरिएको प्रचारप्रसार उपसमितिको निर्णय अनुसार तीन जना पत्रकार खटिएका थिए। पत्रकार श्रीकान्त गुप्ता,अखिलेश यादव र श्यामल गिरीलाई मेला अवधिभर समाचार संकलन,फोटो तथा भिडियो खिच्न जिम्मेवारी दिइएको थियो।
मेला मूल व्यवस्थापन समितिले पारिश्रमिक दिने निर्णय गर्दै रकम छुट्याएको थियो। तर,आजसम्म ती पत्रकारलाई एक रुपैयाँ पनि उपलब्ध गराइएको छैन।पत्रकार अखिलेश यादवले मेला अवधिभर रातभरि नसुती,कतिपय दिन भोकै बसेर काम गरेको बताएका छन्।
पत्रकारिताबाटै जीवन चलाउने मानिसका लागि गम्भीर बेइमानी भएको यादव बताउँछन्। कोषाध्यक्ष खुलेआम ‘बिना कमिसन पैसा पाउने होइन’ भनेर हिडिरहेको आरोप पत्रकार यादवको रहेको छ।
महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले पटक–पटक मेला समितिका कोषाध्यक्ष वीरेन्द्र चौरसियालाई पारिश्रमिक दिन निर्देशन दिने गरेका छन्।
चौरसियाले अहिलेसम्म अटेर गरिरहेका छन्। गढीमाई मेला मूल व्यवस्थापन समितिले आम्दानी–खर्च सार्वजनिक कार्यक्रममा प्रचारप्रसार शीर्षकमा करिब १९ लाख रुपैयाँ खर्च देखाएको छ।
कुन मिडियालाई कति पैसा दिइएको हो भन्ने विवरण अझै गोप्य रहेको छ। अपारदर्शिता चरममा रहेको आरोप समेत रहेको छ।
मेला समितिमा खटिएका केही पत्रकारले भने मोटो रकम आफ्नो नाममा भुक्तानी लिएको सूचना बाहिरिएको समेत छ। जसले निष्पक्ष पत्रकारितामै प्रश्न उठाएको छ। कसले पायो त्यो १९ लाखको हिस्सा? यो प्रश्न रहेको छ। पत्रकार महासंघ बाराले अहिले आएर मात्रै नगरप्रमुखसँग कुरा गर्ने र पारिश्रमिक दिलाउन पहल गर्ने बताएको छ ।
सूचना सम्प्रेशन तथा अन्य सूचना सम्बन्धीमा १९ लाख ८२ हजार रुपैयाँ खर्च भएको मेला समितिले गत वर्ष चैत २३ गते शनिबार मेलाको आय ब्यय सार्वजनिक गरेको थियो । तर उक्त रकममा पनि अनियमितता भएको आशंका रहेको छ। २०८१ के मंसिर महिनामा यो मेला लागेको थियो।
यता यस विषयमा मुल मेला समितिका कोषाध्यक्ष बिरेन्द्र चौरसियासंग बुझ्दा प्रचारप्रसार उप समिति कसले गठन ग¥यो र किन गरेको हो आफुलाई जानकारी नभएको बताएका छन् ।
साथै प्रचारप्रसार उपसमितीको आफुलाई कुनैपनि अधिकारित पत्र समेत नाअएको उनले बताए । गढीमाई माताको सबै जनाले प्रचारप्रसार गरेर आशिर्वाद लिने गरेको उनले बताए ।
आय ब्यय सार्वजनिक कार्यक्रममा प्रचारप्रसार उपसमितिको खर्चमा देखाइएको १९ लाख ८२ हजार रुपैयाँको विवरणको लागि मेरो कार्यालयमा आउनुस देखाउछु उनले भने ।


