जीतपुर : विश्व खाद्य स्वच्छता दिवस खाद्य पदार्थमा स्वच्छता : विज्ञानको अपरिहार्यताू भन्ने नारासहित बाराको जीतपुरमा विशेष कार्यक्रमका साथ मनाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय,वीरगञ्ज पर्साको आयोजनामा तथा एनईएफओएसटीए चुरे मधेश च्याप्टरको सहकार्य र खाद्य आयात निर्यात गुण प्राविधिक कार्यालय पर्सा, वीरगञ्जको सह–आयोजनामा शनिवार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको थियो । संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खाद्य आयात निर्यात गुण प्राविधिक कार्यालयका प्रमुख बिमल दहाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थिए ।
सो अवसरमा बोल्दै उनले विश्व स्वास्थ्य सङ्गठनको अध्ययनअनुसार तरकारी फलफूलमा जीवनाशक विषादीको अवशेष,पशुपन्छीजन्य खाद्य पदार्थमा एण्टिबायोटिकको अवशेष,खाद्यान्नमा ढुसीजन्य विषको समस्या रहेको बताए ।
नगर उद्योग बाणिज्य संघका अध्यक्ष लामिछानेले खाद्य प्रबिधि कार्यालयसँग सहकार्य गरी खाद्य गुणस्तरता कायम गर्नमा आफुहरु लागेको बताए ।सबैको साझा प्रयासले खाद्य स्वच्छता सम्भव भएका कारण सबै क्षेत्र मिलेर लाग्नुपर्ने धारणा ब्यक्त गरे ।
कार्यक्रममा सहभागीहरूले खाद्यको गुणस्तर,स्वच्छता तथा नियमनसँग सम्बन्धित विभिन्न जिज्ञासा तथा प्रश्नहरू राखेका थिए,जसको उत्तर खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साका प्रमुख सुरेश कुमार सिंहले दिनुभएको थियो। त्यस्तै,खाद्य तथा गुण नियन्त्रणसम्बन्धी विषयमा डिभिजन कार्यालय पर्साका प्राविधिक श्रवण कुमार साहले प्रस्तुति दिनुभएको थियो।
कार्यक्रमले उपभोक्ता तथा व्यवसायीहरूमा खाद्य स्वच्छता र गुणस्तरको महत्वबारे जनचेतना फैलाउने विश्वास व्यक्त गरिएको छ। नेपालको संविधानले हरेक नेपालीका लागि खाद्यसम्बन्धी हकको सुनिश्चितता गरेको छ ।
सङ्घीय संसद्ले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ जारी गरी त्यसैअनुसार काम हुँदै आएको छ । विश्वमा खाद्य स्वच्छता दिवस मनाउनु अघिदेखि नै नेपालमा यससम्बन्धी कार्यक्रम गर्न थालिएको थियो । २०६५ सालदेखि विभागले विश्व खाद्य स्वच्छता दिवस मनाउन शुरु गरेको हो ।

