वीरगञ्ज : पर्सा जिल्ला स्थित वीरगञ्जको आदर्शनगरमा रहेको होटेल दियालोको स्विमिङ पुलमा डुबेर एक बालकोको ज्यान गएको छ ।
उक्त होटलमा रहेको स्विमिङ पुलमा स्विमिङ गर्ने क्रममा पर्सा वीरगञ्ज–११ निवासी प्रमोद रौनियारको ९ बर्षिय छोरा बजरंगीको डुबेर ज्यान गएको हो । नेपाल स्विमिङ एसोसिएसन पर्साले आयोजना गरेको १० दिने स्विमिङ प्रशिक्षणमा सहभागी भएका ती बालको मुत्यु भएको हो ।
होटलको स्विमिङमा प्रशिक्षणका क्रममा बुधवार साँझ बजरंगी अचानक डुबेपछि अचेत भएका थिए । उनलाई तत्कालै तत्काल नारायणी अस्पताल पु-याइए पनि चिकित्सकले मृत घोषणा गरे ।
प्रशिक्षक असेसर पटेल र उनकी छोरीले सञ्चालन गरेको उक्त प्रशिक्षणमा बजरंगीलाई प्रशिक्षकले नै होटेल पु¥याएका थिए । मृतकका बुबा प्रमोद रौनियारका कार्यालयको कामले पोखरामा थिए । प्रमोदले राति ८ बजे छोराको मृत्युको खबर पाएको जानकारी दिए ।
यता स्वर्गी बालक बजरंगीका काका विकास रौनियारले प्रशिक्षकको लापरबाहीले भतिजाको ज्यान गएको आरोप लगाए । “प्रशिक्षणको समयमा बच्चा डुब्दा प्रशिक्षक कहाँ थिए? यस्तो गम्भीर लापरबाहीले हाम्रो परिवारमा ठूलो क्षति भयो। दोषीमाथि कडा कारबाही हुनुपर्छ,” उनले आक्रोश व्यक्त गरे ।
होटेलका कर्मचारीले बालकलाई साँझ ७ बजे नारायणी अस्पतालमा छोडेर बिना जानकारी भागेको काका विकास रौनियारले बताए ।
प्रशिक्षक असेसर पटेलले भने आफ्नी छोरीले प्रशिक्षण दिइरहेको र घटनाबारे आफूलाई स्पष्ट जानकारी नभएको दाबी गरेका छन् । घटनालाई शङ्कास्पद मानेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले बताएका छन ।


