हलखोरिया साझेदारी वनको २९ बिगाहामा वृक्षारोपण शुरु

रञ्जन यादव
508 पाठक संख्या

जीतपुर । बाराको हलखोरिया साझेदारी उपभावन समितिमा झण्डै २९ बिगाहा क्षेत्रमा वृक्षारोपण कार्य सुरु गरिएको छ।

निजी कम्पनीको भोगचलनमा रहेको करिब २९ बिगाहा वन क्षेत्र डिभिजन वन कार्यालयले पुनः नियन्त्रणमा लिएर वृक्षारोपण थालिएको छ । नेचुरल हर्बल उद्योग प्रा.लि.ले अघिल्लो २० वर्षदेखि प्रयोग गर्दै आएको सो वन क्षेत्र शुक्रबारदेखि पुनः हरियाली बनाउने उद्देश्यले वृक्षारोपणका लागि प्रयोगमा ल्याइएको हो ।

डिभिजन वन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिएअनुसार अहिले टिक, सतीससाल, मलेसियन साल लगायतका बिरुवा रोप्ने कार्य तीव्र गतिमा अघि बढाइएको छ।

उनका अनुसार विगतमा साझेदारी वनका तत्कालीन अध्यक्ष राजकुमार अर्यालले वार्षिक एक लाख २५ हजार रुपैयाँ भाडा बुझाउने सर्तमा निजी कम्पनीलाई करिब ५० बिगाहा वन क्षेत्र उपलब्ध गराएका थिए। तर, हाल वन कार्यालयले निजी कम्पनीसँगको सम्झौता खारेज गर्दै जग्गा फिर्ता ल्याएको छ। त्यसपछि उपभोक्ता समूहले पनि कम्पनीसँगको सम्झौता रद्द गरेको हो।

हलखोरिया साझेदारी वन सन् २०६४ सालमा उपभोक्ता समूहलाई हस्तान्तरण गरिएको थियो। वन कार्यालयका अनुसार झण्डै २ हजार हेक्टर वन क्षेत्र उपभोक्ता समूहको जिम्मामा रहेको छ, जसमा बाराका करिब ४० हजार घरधुरी र २ लाख ४० हजार उपभोक्ता काठ र दाउराका लागि निर्भर छन्।

साझेदारी वनका अध्यक्ष विकल्प भट्टराईले जानकारी दिएअनुसार हाल करिब ६ सय हेक्टर वन क्षेत्र अनुत्पादक अवस्थामा छ भने ५ सय घरधुरीले वन अतिक्रमण गरेर बसोबास गरिरहेका छन्। उनका अनुसार साउनदेखि अतिक्रमण खाली गराउने प्रक्रिया सुरु हुनेछ र यसका लागि सम्बन्धित निकायमा पत्राचार भइसकेको छ।

डिभिजनल बन अधिकृत झाका अनुसार तराईका वन क्षेत्रमा दिनदिनै अतिक्रमण र वन विनाश बढ्दै गएकाले पुनः हरियाली फिर्ता ल्याउन वृक्षारोपण आवश्यक भएको बताए।

यस वर्ष हलखोरिया साझेदारी वनमा ५० बिगाहा क्षेत्रभित्र वृक्षारोपण गरिनेछ भने निजगढको आदर्श सदाबहार सामुदायिक वनभित्र सञ्चालनमा रहेको अलकत्रा उद्योग हटाइने र निजगढ नगरपालिका वडा नं.१ र वडा नं. २ अन्तर्गतको १९ हेक्टर अतिक्रमित वन क्षेत्रमा पनि वृक्षारोपण गरिने योजना रहेको उनले बताए।

Leave a review