रक्सौल : लायन्स क्लब अफ रक्सौलले रक्सौल नगरको दुई ज्वलन्त समस्या समाधान गर्न माग गर्दै प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ।
क्लबका अध्यक्ष लायन बिमल सर्राफको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने समस्या समाधानका लागि रक्सौलका विभिन्न प्रमुख प्रशासनिक पदाधिकारीहरूसँग शिष्टाचार भेट गरी ज्ञापनपत्र बुझाएको हो।
टोलीले अनुमण्डल पदाधिकारी श्री मनीष कुमार, अनुमण्डल प्रहरी पदाधिकारी श्री मनीष आनन्द, तथा अवर निबन्धक पदाधिकारी श्री आशीष अग्रवालसँग छुट्टाछुट्टै भेट गर्दै ज्ञापनपत्र बुझाएका हुन्। टोलिमा क्लबका सचिव लायन मोहम्मद निजामुद्दीन, पूर्व अध्यक्ष तथा क्लब लिडर सर्भिस चियरपर्सन लायन गणेश धानोठिया, र पूर्व अध्यक्ष लायन पंकज बरनवालको सहभागिता रहेको लायन्स क्लब अध्यक्ष तथा मिडिया प्रभारी लायन बिमल सर्राफले जानकारी दिए।
गम्भीर जल संकटले शहरवासीहरू अहिले पिउनलायक पानीको चरम अभावको सामना गरिरहेका छन्। कोइरिया टोला नहर चौकको पुल बन्द सो पुल बन्द हुँदा रक्सौलमा चारैतिर सवारी जामको स्थिति उत्पन्न हुने गरेको विषयलाई समेटी उनीहरुले ज्ञापनपत्र दिएका हुन्।
प्रशासन ती समस्याहरूको समाधानका लागि निरन्तर प्रयासरत रहेको जानकारी दिइएको छ। रक्सौलमा क्रियाशील सबै सामाजिक र स्वयंसेवी संघसंस्थाहरूलाई प्रशासनसँग सहकार्य गर्दै सामूहिक रूपमा समाधानमा जुट्नुपर्ने प्रशासनका पदाधिकारीले जनाएका हुन्।

