वीरगञ्ज । निजी विद्यालय सञ्चालकहरूले बिहीबार वीरगञ्जमा बृहत विरोध -याली गरेका छन्।
उनीहरुले संघीय शिक्षा ऐनमा निजी विद्यालयहरू बन्द गर्ने गरी ल्याउन लागिएको प्रावधान विरुद्ध प्रदर्शन गरेका हुन्। प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन लगायतका निजी तथा आवासीय विद्यालय सञ्चालक संगठनहरूको संयुक्त आयोजनामा यसरी प्रदर्शन गरिएको हो। उनीहरुले वीरगञ्जमा जिल्ला व्यापी प्रदर्शन गरेका हुन्।
पुरानो बसपार्कबाट सुरु भई शहरका विभिन्न मार्ग परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी कोणसभामा परिणत भएको हो। शिक्षाको दिगोपन र निजी विद्यालयहरूको अस्तित्व सुनिश्चित गर्नुपर्ने मागका साथ गरिएको विरोध प्रदर्शनकोे संयोजन प्याब्सन पर्साका जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरीले गरेका थिए।
यस अवसरमा प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, वरिष्ठ उपाध्यक्ष सुशिला साह, एन–प्याब्सनका सल्लाहकार प्रेम यादव, हिसान पर्साका अध्यक्ष मुकेश गुप्ता, प्याब्सन मधेश प्रदेश उपाध्यक्ष पुरन प्रधानको विशेष सकृयता र सहभागिता रहेको हो। सो कार्यक्रममा सल्लाहकार इमामुद्दिन अहमद, पूर्व वरिष्ठ उपाध्यक्ष श्याम केसी, संस्थापक सदस्य लालबाबु पटेल, एन–प्याब्सन वीरगञ्ज अध्यक्ष जियालाल गुप्ता, सचिव शेख अजहर लगायतकाको सक्रियता रहेको हो।
संघीय सरकारले ल्याउन लागेको शिक्षा विधेयकका प्रावधानले निजी विद्यालयहरूको अस्तित्व संकटमा पार्ने भन्दै तत्काल संशोधन गर्नुपर्ने माग राखेका हुन्। विद्यालयहरूको दिगोपन, शिक्षक–कर्मचारीको हक अधिकार, पाठ्यक्रम व्यवस्थापन र शैक्षिक गुणस्तरलाई सुनिश्चित गर्ने गरी विधेयक पुनर्लेखन गर्न सरकारलाई सुझाव दिए।
विधेयकमा संशोधन नभएसम्म आन्दोलनलाई अझ सशक्त बनाइने उनीहरुले चेतावनी दिएका छन्।आन्दोलनका कारण मधेश प्रदेशका विभिन्न जिल्लाका निजी विद्यालयहरूको पठन–पाठन प्रभावित भएको छ। आन्दोलनकारीहरूले जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ बाबुलाल रेग्मीलाई ज्ञापन पत्र बुझाएका छन्।

