धनुषा । मोबाईल पसल फुटाई मोबाईल चोरी गर्ने गिरोहलाई ईलाका प्रहरी कार्यालय ढल्केबर धनुषाको टोलीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय अपराध अनुसन्धान तथा कारवाही शाखाका प्रहरी निरीक्षक जटाशंकर यादवले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।
पक्राउ पर्नेमा धनुषाको गणेशनाम चारनाथ नगरपालिका वडा नं.७ का २० वर्षीय अर्जुन मुखिया, सोही ठाउँका १९ वर्षीय सिकेन्द्र पासवान तथा गणेशमान चारनाथ नगरपालिका वडा नं.५ का २२ वर्षीय कृष्ण मण्डल रहेका छन्।
यही भदौ ६ गते धनुषा गणेशमान चारनाथ नगरपालिका वडा नं. ६ गोदार चोक, स्थित राजकुमार साहले संचलान गरेको राजकुमार मोबाईल पसलको सटरको ताला फोडी सो मोबाईल पसलबाट चोरी भएको हो। सो पसलबाट मोबाईल ४५ थान, ड्रोन क्यामेरा २ थान, टेम्पर ग्लास ५ डब्बा, देवाल घडी ५ थान, हाते घडी १५५ थान, टर्च ६ थान र नगद रु. ९८ हजार ७ सय रुपैयाँसमेत गरी करिव १० लाख बराबरको धनमाल चोरी भएको थियो।
मोवाईल पसलमा रहेको सिसि क्यामराकोे सहयोगमा उक्त चोरीमा संलग्न मध्येका ३ जना मानिसहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ प्रतिवादीहरूको सँगसाथ, घर र निजहरूले लुकाएको स्थानबाट बिभिन्न कम्पनीको मोवाईल थान–१२ (एन्ड्रोआइड ब्लमचयष्म र बटमवाला मोबाईल), घडी, क्यामेरा स्टेण्ट, मोवाईलको चार्जर, ग्लास, लेन्स लगायत बरामद भएको थियो।
पक्राउमा रहेकाहरु माथि चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा म्याद थप अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ। घटना वारदातमा संलग्न फरार प्रतिवादीहरूलाई खोजतलास गर्ने कार्य जारी रहेको जनाइएको छ।

