आर्थिक अवस्था कमजोरहरुलाई आत्मनिर्भर बनाउन जीतपुरसिमरा उपमहानगरपालिकाले पथलैयामा सिलाईकटाई तालिम प्रदान गरेको छ ।
उपमहानगरपालिकाको उद्यम बिकास शाखाले दुई जना पुरुष र १३ जना महिला गरी १५ जनालाई ३२ दिने बिशेष सिलाईकटाई तालिम दिएको हो । जेठ १४ गते देखि सुरु भएको तालिम असार १३ गते सम्म चलेको बरिष्ठ उद्यम सहजकर्ता दिपनारायण रायले जानकारी दिए।
सहभागिहरुलाई नगर उप प्रमुख भोला प्रसाद अधिकारीले प्रमाणपत्र बितरण गर्नुभएको थियो । गरिबी निवारणकोलागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको १६० घण्टे बिशेष सिलाई कटाई तालिममा सहभागिहरुले तलिमबाट आफुहरु लाभन्वित भएको प्रतिक्रिया दिएका थिए ।
उनीहरुले बजारको माग अनुसार आफुहरु कपडा सिलाई कटाई गर्न सक्ने बताएका थिए । वडा नं.३,१६ र २१ का आधारभुत सिलाई कटाई तालिम लिएका र सिलाईकटाईलाई पेसाको रुपमा बिकास गर्न चाहनेलाई बिशेष सिलाई कटाई तालिम प्रदान गरिएको बरिष्ठ उद्यम सहजकर्ता रायले बताए ।
तालिमको समापन कार्यक्रममा बोल्दै उप प्रमुख भोला प्रसाद अधिकारीले तालिममा सिकेको कुराहरुलाई ब्यवहारमा उतारी पेसाको रुपमा बिकास गर्न सल्लाह दिनुभयो ।
उपमहानगरपालिकाले गरेको लगानी खेर जान नदिई भरपुर फाईदा लिन अनुरोध गर्नुभयो ।सिलाई कटाई तालिमले घरको चुलो चौकोमा सिमित रहेका महिलाहरुलाई व्यवसाय नै सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बनाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास उपमहानगरपालिकाले लिएको उहाँले बताउँनुभयो ।
सहज जीवनयापनका लागि सीप महत्वपूर्ण रहेको भन्दै सीप सिकेर व्यवसायिक बन्न महिलाहरुलाई आग्रह गर्नुभयो ।
बरिष्ठ उद्यम सहजकर्ता दिपनारायण रायको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं.९ का वडा अध्यक्ष मोतिलाल राउत,प्रादेशिक तालिम केन्द्र पथलैयाका तालिम अधिकृत अनिल चौधरी,लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन उद्यम सहजकर्ता उषा बुढाथोकीले गर्नुभएको थियो ।


