बारा :बाराको डुमरबानामा स्क्रायबल क्लब बाराको आयोजना र राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन डुमरबानाको संयोजनमा पाँचौं जिल्ला स्तरीय स्क्रायबल च्याम्पियन प्रतियोगिता–२०२५ सम्पन्न भएको छ ।
कार्यक्रमका वक्ताहरुले स्क्रायबल खेलले विद्यार्थीको बुद्धिमा बृद्धि भई पढाइ र सिकाइ दुबैलाई अघि बढाएको उल्लेख गरे । प्रतियोगितामा १६ वटा विद्यालयका ३२ जनाको सहभागिता रहेको थियो ।
उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले संस्थागत विद्यालयहरुको हक हितलाई मध्यनजर गर्दै उपमहानगरपालिका सधैं सहयोग गर्न तयार रहेको बताए ।
उनले उपमहानगरपालिकाको बजेट निर्माण चरणमा रहेको समयमा प्रतियोगिता वा आवश्यक गतिविधिका लागि ८० प्रतिशत उपमहानगरपालिकाले र २० प्रतिशत आयोजक संस्थाले व्यहोर्ने गरी रकम छुट्याउने व्यवस्था गर्न सकिने उल्लेख गरे ।
साथै, उपमहानगरपालिकालाई मञ्चमै आलोचना गर्ने मात्र नभई समयमै सल्लाह सुझावका लागि कार्यालयमा आउन सहभागीलाई आग्रह गरे । राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनका अध्यक्ष बिदुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक प्रिन्सिपल किशोर बाबु श्रेष्ठले गरेका थिए ।

