कलैया : तराई मधेसमा हर्सोल्लासका साथ मनाईने जिउतिया पर्वको मनाईदै छ । पारिवारिक सुख–शान्तिका लागि मनाइने पवित्र जिउतिया पर्व नेपालको तराई–मधेस क्षेत्र, भारतको बिहार, उत्तर प्रदेशलगायतका क्षेत्रमा धार्मिक विधिपूर्वक सुरु मनाईदै छ ।
जिउतिया पर्वले तराई–मधेसको सामाजिक र सांस्कृतिक जीवनमा गहिरो प्रभाव पार्छ । जितिया पर्वले महिलाहरूलाई आफ्नो परिवार र सन्तानप्रति समर्पित भावनालाई अभिव्यक्त गर्ने अवसर प्रदान गर्छ । वीरगञ्ज, जनकपुर, राजविराजलगायतका क्षेत्रमा जिउतिया पर्वको रौनक देखिन्छ ।
सन्तानको दीर्घायु, सन्तान प्राप्ति, कुल खानदानका दिवङ्गत पूर्वजहरूको सम्झना र यो पर्व विशेषगरी नेपालको मिथिलाञ्चल र भोजपुरी समुदायमा ठूलो उत्साह र श्रद्धाका साथ मनाईदै आएको कलैयाकी एक श्रद्धालु महिलाले बताईन।
व्रतालु महिलाहरूले आईतबार निराहार र निर्जल व्रत सुरु गरेका छन् । कठिन उपवास सोमबार बिहानसम्म जारी रहनेछ । व्रतको दिन व्रतालुले कुनै पनि खाद्य पदार्थ वा पानी ग्रहण गर्दैनन्।
शनिवार नहाय–खाय विधिमा शुरु भएको यो पर्वमा व्रतालु महिलाहरूले नदी, तलाउ वा पोखरीमा स्नान गरी घिरौँलाको पातमा भगवान् जितमाहन र पितृहरूलाई चिउरा, दही, अमोट (आँपको रसबाट बनेको खाद्य पदार्थ) र पिना प्रसादको रूपमा चढाउने गर्छन् ।
चढाइएको प्रसाद आफूले खाने र परिवारका अन्य सदस्यलाई पनि खुवाउने परम्परा छ । बाराको कलैया लगायत विभिन्न स्थानमा रहेका नदी, पोखरी,लगायतका जलाशयहरूमा स्नान गर्न र प्रसाद चढाउन महिलाहरूको ठूलो भिड लागेको थियो।
यो पर्वमा खास व्रतको समयमा जितमाहनको कथा सुन्ने परम्परा छ । कथामा प्रायः वृद्ध महिलाले कथा भन्ने र युवा महिलाले सुन्ने गर्छन् । किमदन्ती कथामा राजा शालिवाहनको कथा जोडिन्छ, जसले एक महिलाका सात छोरालाई दैत्यबाट मुक्त गराएका थिए । कथाले जितिया पर्वको धार्मिक र सांस्कृतिक महत्त्वलाई देखाएको छ।

