वीरगञ्ज । त्रिभुवन विश्वविद्यालयसंग सम्बद्ध वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तालाबन्दी भएको छ। यहाँ कार्यरत शिक्षक र कर्मचारीहरूले तालाबन्दी गरेका हुन्।
क्याम्पस प्रमुख किशोरीराय यादवको गैरजिम्मेवार व्यवहार र जायज मागहरूको बेवास्ताप्रति आक्रोशित हुँदै आजदेखि क्याम्पसको सम्पूर्ण प्रशासनिक कार्य अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका हुन्।
कर्मचारीहरूले क्याम्पस प्रमुख यादवसहित अन्य प्रशासनिक कोठाहरूमा तालाबन्दी गरेका छन्। क्याम्पस प्रशासनले असोज २० गतेसम्म तोकिएको अन्तिम म्यादभित्र मागहरू पूरा नगरेपछि तालाबन्दी गरिएको हो।
क्याम्पसको कर्मचारी युनियनका अध्यक्ष विनोद यादवद्वारा जारी सूचनामा क्याम्पस प्रमुखले शिक्षक र कर्मचारीहरूको मागलाई बेवास्ता गर्दै मनोमानी व्यवहार गरेको आरोप लगाइएको छ। झुटा आश्वासन दिएको र गैरजिम्मेवार रवैया अपनाएको आरोप लगाइएको छ।
कर्मचारीहरूलाई आफ्नो समयमा हाजिरी अनिवार्य गर्न र शिक्षकहरूको मागप्रति पूर्ण एकबद्धता जनाउन आह्वान समेत सो सूचनामा गरिएको छ।
युनियनले क्याम्पसमा बजारको तुलनामा ५० प्रतिशत कम तलबमा काम गर्न बाध्य पारिएको गुनासो गरेको छ । कर्मचारी र शिक्षकहरूले विगत अढाई वर्षदेखि शिक्षक र कर्मचारीहरूले तलब वृद्धि, ग्रेड, सञ्चय कोष, उपदान र अन्य सुविधाको माग गर्दै सङ्घर्ष गरिरहेको जनाइएको छ।

