जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले बिद्यालय भवन निर्माणमा लापरवाही गर्ने ठेकेदार कम्पनीको बैंक धरौटी जफत गर्ने प्रक्रिया अघि बढाएको छ। जीतपुरस्थित फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयको भवन निर्माण कार्यमा ठेकदार कम्पनीले लापरवाही गरेको भन्दै उपमहानगरपालिकाले यस्तो प्रक्रिया शुरु गर्न थालेको हो ।
उपमहानगरपालिकाले बारम्बार निर्देशन र ताकेता गरे पनि एन.के. कन्सट्रक्सन भेडिहारी, पर्साले निर्माण कार्य सुरु नगरेपछि कानूनी कारबाहीको प्रक्रिया सुरु गरिएको हो। २०८१ साल मंसिर १४ गते भवन निर्माणका लागि कम्पनीले १ करोड ३० हजार ४१७ रुपैयाँ ३७ पैसामा ठेक्का सम्झौता गरेको थियो। तर, लामो समयसम्म काम नगरी अटेरी गरेपछि उपमहानगरपालिकाले कम्पनीको कार्यसम्पादन बोन्ड ग्यारेन्टी १९ लाख रुपैयाँ र अग्रिम भुक्तानी ग्यारेन्टी ११ लाख रुपैयाँ जफत गर्ने तयारी गरेको जनाएको छ।
उपमहानगरपालिकाको पुर्बधार बिकाश शाखा प्रमुख इन्जिनियर अभयकान्त झाका अनुसार, ठेकदार कम्पनीलाई २०८१ साल फागुन ८ गते र २०८२ साल साउन ३० गते दुईपटक पत्र लेखी प्राविधिक जनशक्ति सहित काम सुरु गर्न निर्देशन दिइए पनि कुनै प्रगति हुन सकेको छैन । उनका अनुसार, “कम्पनीका सञ्चालकहरूले हरेक पटक तुरुन्तै काम सुरु गर्ने प्रतिबद्धता जनाउँछन्, तर व्यवहारमा काम अघि बढाउँदैनन्,” भनेर उपमहानगरले लापरबाहीको तथ्य स्पष्ट गरेको छ।
उक्त स्थानमा भवन निर्माणका लागि खनिएको जगमा पानी भरिँदा पोखरी बनेपछि, नगर इन्जिनियर झाको नेतृत्वमा गएको टोलीले पम्पिङ पाईपमार्फत पानी निकालेर सुकाउने काम गरेको थियो। उपमहानगरपालिकाले ठेकदार कम्पनीको लापरबाहीका कारण विद्यालय भवन प्रभावित भएको भन्दै कानूनी प्रक्रिया अनुसार बैंक धरौटी जफत गरेर अर्को विकल्पबाट निर्माण कार्य अघि बढाउने तयारी गरेको जनाएको छ। ठेक्दार कम्पनीको लापरबाहीले भवन निर्माण हुन नसक्दा कक्षा कोठा अभावमा बिद्यार्थीहरुलाई पढाउँन हम्मे हम्मे पर्ने गरेको बिद्यालयका प्रधानध्यापक राजु कुमार सिँहले जानकारी दिएका छन ।


