जीतपुरसिमरामा सामुदायिक विद्यालयको अस्तित्व समाप्त गर्न सक्रिय समूह, विद्यालय भवनै भत्काइयो

रञ्जन यादव
265 पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ मा रहेको श्री गौतमबुद्ध आधारभूत विद्यालय नियोजित रूपमा समाप्त पार्ने प्रयास भइरहेको आरोप सार्वजनिक बनेको छ। दिनदहाडै विद्यालयको भवन नै भत्काइएकाे पाइएको छ भने यसबारे स्थानीय सरकार र प्रशासन मौन बसेको भन्दै अभिभावक तथा सचेत स्थानीय आक्रोशित भएका छन्।

स्थानीयका अनुसार विद्यालयको नाम, निसाना र पूर्वाधार नै हटाउने उद्देश्यसहित केही व्यक्तिहरू मिलेर ‘विद्यालय समाप्त अभियान’ चलाइरहेको आशंका छ। विद्यालयको भवन भत्काइने कार्य खुलेआम भइरहे पनि उपमहानगरपालिका तथा सम्बन्धित निकायले कुनै कदम नचालेको भन्दै अभिभावकहरूले गम्भीर प्रश्न उठाएका छन्।

यस सम्बन्धमा सोही वडाका लखनलाल चौधरीको संलग्नता रहेको स्थानीयले बताएका छन्। वडाध्यक्षले समेत भवन भत्काइएको तथ्य पुष्टि गरेका छन्, जसले घटनालाई थप विवादास्पद बनाएको छ। स्थानीयस्तरमा भइरहेको गतिविधि शैक्षिक संरचनामाथिको प्रत्यक्ष आक्रमण भएको भन्दै अभिभावक, शिक्षक र सामुदायिक प्रतिनिधिहरूले तत्काल छानबिन र कारबाहीको माग गरेका छन्।

विद्यालय भत्काउने कार्य किन गरियो, कसको स्वीकृतिमा गरियो तथा विद्यालयको भविष्य के हुन्छ भन्नेबारे उपमहानगरपालिकाको स्पष्ट धारणा अझै आएको छैन। सामुदायिक विद्यालयमाथिको यस्तो हस्तक्षेप अराजकताकाे प्रकाष्ठ मानिएकाे छ ।

Leave a review

This will close in 0 seconds