Sajhedari Daily
Latest News from Nepal

रिलायन्स सुगर मिलद्धारा पुरानै दरमा उखु क्रसिङ्ग सुरु

रबिन्द्र प्रसाद साह/
बाराको कलैया उपमहानगरपालिका स्थित श्रीपुरमा रहेको रिलायन्स सुगर एण्ड केमिकल इण्डस्ट्रिज प्रालिले बुधवारदेखी पुरानै दरमा उखु क्रसिङ्ग सुरु गरेको छ ।

उखु मिलले बुधवार उद्योगमा पत्रकार सम्मेलन सो वारे जानकारी गराएको हो । मिलले गतबर्षकै दररेटमा क्रसिङ्ग सुरु गरेको जनाकारी गराएको छ । तर सरकारले नयाँ भाऊ तोके सोही अनुसार नै किसानहरुलाई भुक्तानी गरिने उद्योगका प्रबन्धक निर्देशक राजकुमार अग्रवाल पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

मिलले हाल गत वर्ष जारी रहेको प्रति क्विन्टल रु ५ सय ३६ रुपैया ५६ पैसा कै दरमा क्रसिङ्ग सुरु गरेको छ । जस मध्ये मिल उद्योगले प्रति क्विन्टल ४ सय ७१ रुपैयाँ २८ पैसा र सरकारले प्रति क्विन्टल अनुदान ६५ रुपैया २८ पैसाका दरले भुक्तानी दिने जनाएको छ ।

उखु किसानहरूको उखु खेतमा नै सुक्न थालेको तथा सरकारले असोजमा नै नयाँ दर तोक्ने भनेपनि पुस लागिसक्दा समेत नयाँ दर नतोकिएकोले बाध्य पुरानै दरमा क्रसिङ्ग गरेको पत्रकार सम्मेलनमा निर्देशक अग्रवालले बताए ।

मिलले बुधवारदेखी नै सम्पूर्ण किसानहरूलाई आफ्नो चलान नम्बर अनुसार उखु काट्न सुचना समेत जारी गरोको छ । मिलले उखु किसानहरूलाई कुनै पनि किसिमको समस्या नहुने समेत जानकारी गराएको छ । किसानहरूको सुविधाको लागि उनीहरुको मोबाइलमा नै सन्देश पठाएर जानकारी गराइने मिलले जनाएको छ ।

सम्मेलनमा उखु उत्पादक किसान संघ बाराका अध्यक्ष बीरेन्द्र प्रसाद कुशवाहा, किसानहरु मुकेश कुशवाहा, रामानन्द प्रसाद यादव, रामबाबु यादव, रमेश चौधरी, मुक्ति प्रसाद यादव, भोला प्रसाद चौधरी, कारखानाका उपमहाप्रबन्धक डिएन पाण्डे, एरिया इन्चार्ज रामकुमार चौधरी, प्रशासकिय अधिकृत महेन्द्र प्रसाद साह लगायतको सहभागिता रहेको थियो ।