रौतहटको ज्योति डिस्टिलरीमा बोइलर विस्फोट हुँदा एक जनाको घटनास्थलमै मृत्यु

Subash Kumar Mishra
451 पाठक संख्या

रौतहट । रौतहटको कटहरिया नगरपालिका वडा नं.–९ डुमरियास्थित रहेको ज्योति डिस्टिलरीमा आज बिहान बोइलर (इन्धन वा पानी तताउने कन्टेनर) विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना कामदार घाइते भएका छन्।

विस्फोटमा परी मृत्यु हुनेमा कटहरिया नगरपालिका–९ बलुवा गाउँका अन्दाजी ४० वर्षका लक्ष्मण यादव रहेको इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई धर्मेन्द्र पौडेलले जानकारी दिएका छन् ।

विस्फोट अत्यन्तै शक्तिशाली रहेकाले डिस्टिलरी परिसरमा समेत क्षति पुगेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।उनीहरूलाई प्रारम्भिक उपचारपछि एम्बुलेन्समार्फत वीरगञ्जतर्फ रिफर गरिएको छ। घाइतेको पहिचान र विस्फोटको ठोस कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ। सम्भावित थप क्षति हुन नदिन सुरक्षाकर्मीले घटनास्थल नियन्त्रणमा लिँदै सुरक्षा व्यवस्था कडा बनाएका छन्। जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीले घटनाको पुष्टि गर्दै अनुसन्धानका लागि थप टोली परिचालन गरिएको जानकारी दिएका छन्।

Leave a review

This will close in 0 seconds