कलैया । प्रतिनिधिसभा निर्वाचनका लागि बारामा चार हजार ३४ जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना गरिने भएको छ।
आजदेखि निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक नरेन्द्र कुवरले जानकारी दिएका छन्। उनका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको समन्वयमा बारामा चार हजार ३४ जना निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो।
प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि–२०८२ अनुसार भर्ना प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक कुवरले बताए।
पुस २५ गते शुक्रबारदेखि आगामी माघ १ गतेसम्म १८ वर्ष उमेर पूरा भई ५४ वर्ष ननाघेका इच्छुक व्यक्तिले जिल्ला प्रहरी कार्यालय बारामा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
बारामा चार वटा निर्वाचन क्षेत्र रहेका छन् भने जिल्लामा ४ लाख ६५ हजार ७ सय ८४ जना मतदाता रहेका छन्। त्यसैगरी जिल्लाभर ३०५ मतदानस्थल र ५८७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय बाराका जिल्ला निर्वाचन अधिकृत नवीन चौधरीले जानकारी दिएका छन्।


